अष्ट्रेलियासँग नेपाल ३–० गोल अन्तरले पराजित

काठमाडौं । फिफा विश्वकप तथा एसियन कप छनोट खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ ।

गएराति सम्पन्न दोस्रो चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले बलियो प्रतिश्पर्धी अष्ट्रेलियासँग ३–० गोलले पराजित भएको हो । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा नेपाल पहिलो हाफमै १० खेलाडीमा सीमित भएको थियो। अष्ट्रेलियाले छैठौं मिनेटमै गोल गर्यो ।

त्यसपछि ३८ औं मिनेटमा अग्रता दोब्बर पारेको थियो । खेलको ४५ औं मिनेटमा नेपालका अनुभवी डिफेन्डर रोहित चन्दले रातो कार्ड पाए । वान भर्सेस वानको प्रयासमा अगाडि बढिरहेका अष्ट्रेलियाका खेलाडीलाई डि बक्सबाहिर पछाडिबाट तानेपछि उनले रातो कार्ड पाएका थिए ।

५७ औं मिनेटमा गोल थपेपछि अष्ट्रेलिया ३(० गोलले विजयी भयो । नेपाल ८ खेलबाट ६ अंक जोड्दै समूह बीको चौथो स्थानमा रह्यो । समूह चरणमा नेपालले दुई खेल जित्दा ६ खेलमा हार्‍यो । नेपालले चाइनिज ताइपेईविरुद्धका दुबै खेल २(० ले जितेको थियो ।

अष्ट्रेलियासँग पहिलो खेलमा ५(० ले हार ब्यहोरेको थियो । त्यस्तै कुवेतसँग ७(० र १(० तथा जोर्डनसँग समान ३(० गोलले पराजित भएको थियो । चाइनिज ताइपेईलाई भने दुवै खेलमा समान २(० गोलले हराएको थियो ।

नेपालले अब एशियन कपको तेस्रो चरण पुग्न प्लेअफ खेल्नुपर्ने हुन्छ। सबै समूहका पुछारका टोली र चौथो स्थानमा रहने कमजोर चार टोलीले प्लेअफमा खेल्नेछन् । समूह चरणमा अपराजित अष्ट्रेलियाले ७ खेलबाट २१ अंक जोडेको छ। अष्ट्रेलियाविरुद्धको खेलमा नेपालका तीन खेलाडीले डेब्युको मौका पाए ।

पहिलो पटक राष्ट्रिय टोलीमा परेका आयुष घलान, सुरजज्यु ठकुरी र कमल थापाले दोस्रो हाफमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोली डेब्यु गरेका हुन् । तीनै जना खेलाडी इञ्जुरी समयमा मैदान प्रवेश गरेका थिए ।

यसैबीच नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नेपालको प्रदर्शनबाट खुशी रहेको प्रतिक्रिया दिएका छन् ।(रेडियो नेपाल)

Translate »