कालिकोटमा कोरोना परीक्षणको दायरा बढाईदैं

जेठ २९, कालिकोट । कालिकोटका ९ ओटा स्थानीय तहमा कोरोना (कोभिड–१९) को परीक्षणको दायरा बढाइने भएको छ ।

जिल्ला कोभिड–१९ महामारी विपद् व्यवस्थापन समितिको बैठकले शुक्रवार परीक्षण दायरा बढाउने निर्णय गरेको हो ।

कोरोना संक्रमित बढ्दै गएकाले सबै स्थानीय तहमा कोरोना परीक्षण बढाउने निर्णय भएको हो । खाँडाचक्र र रास्कोट नगरपालिका, पचालझरना र शुभकालिका गाउँपालिकामा ५००/५०० ओटा एन्टिजेन किट पठाइएको र अन्य स्थानीय तहमा पनि ५००/५०० का दरले एन्टिजेन किट पठाउने तयारी भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले जानकारी दिए ।

‘समुदायस्तरमा नै कोरोना महामारी फैलिएको हुनसक्ने भएकाले कोरोना परीक्षणको दायरा बढाउन लागेका हौँ’, उनले भने, ‘सबै स्थानीय तहका स्वास्थ्य सेवा कार्यालयलाई कोरोना परीक्षण बढाउन र उनीहरुको सम्पर्कमा आएकालाई परीक्षण गरिनेछ ।’

शुक्रवार ६० जनामा एन्टीजेन विधिबाट गरिएको परीक्षणमा १७ जनामा र पिसिआरबाट ३४ जनामा गरिएको परीक्षणमा १८ जनामा कोरोना पोजेटिभ देखिएको महतले बताए ।

त्यस्तै, कोरोना महामारीको दोस्रो लहरमा जिल्लामा एक हजार ४९० जनामा कोरोना पोजेटिभ देखिएकोमा एक हजार ३५२ जना डिस्चार्ज भएका छन् । हाल कोरोना सक्रिय संक्रमित १३४ जना विभिन्न आइसोलेसन र १३ जनाको कोभिड विशेष अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ । कालिकोटमा हालसम्म चार जनाको कोरोना संक्रमणले मृत्यु भएको छ । (रासस)

Translate »