पाल्नयोग्य नभएपछि किसानले फिर्ता गरे बाख्रा

जेठ २८, रुकुम ।  रुकुमका किसानले मापदण्ड विपरितका ल्याइएको बाख्रा फिर्ता  गरेका छन् ।

किसानलाई वितरण गर्ने भनी ल्याइएका बाख्रा किसानहरूले नै लिन अस्वीकार गरेका हुन् ।

वितरणका लागि ल्याइएका बाख्रा मापदण्ड विपरीतका भएको खुलासा भएपछि जिल्लाको मुसिकोट नगरपालिकाले मापदण्ड विपरितका बाख्रा फिर्ता गरिदिएको छ ।आर्थिक वर्ष २०७७/ ०७८ मा नगरपालिकाका किसानलाई वितरण गर्न ल्याइएकामध्ये २६ ओटा बाख्रा फिर्ता गरिएको नगरपालिकाले बताएको छ ।

बाख्रा खरीदका लागि गरिएको टेन्डरअनुसार सम्झौता गरेको ठेकेदार कम्पनीले ल्याएका बाख्रा पाल्नयोग्य तथा उत्पादनयोग्य नभएका र किसानले समेत लिन अस्वीकार गरेकाले फिर्ता पठाइएको मुसिकोट नगरपालिकाका सामाजिक विकास समितिका संयोजक सुशील गौतमले जानकारी दिए ।

उनले भने, ‘ठेकेदारले ल्याएका ५६ ओटा बाख्रामध्ये २६ ओटा बाख्रा फिर्ता पठाइएको हो ।’ नगरपालिकाले यहाँका विभिन्न योजना तथा कार्यक्रमको प्रभावकारिताका बारेमा अनुगमन गरिरहेको छ । कार्यक्रमको लक्ष्य तथा उद्देश्य विपरीत हुने कार्यलाई अनुगमन गरेर निरुत्साहित गरिने सामाजिक विकास समितिका संयोजक गौतमको भनाइ छ ।

संघीय  सरकार र मुसिकोट नगरपालिकाको साझेदारीमा किसानलाई व्यावसायिक बनाएर आर्थिक उत्पादनमा जोड्ने उद्देश्यले बाख्रापालन कार्यक्रम राखिएको थियो । यसवर्ष १५० ओटा बाख्रा वितरण गरिने कार्यक्रम रहेको छ । बाँकी बाख्रा अब तत्कालै ल्याएर वितरण गरिने नगरपालिकाको पशु सेवा शाखा प्रमुख सरस्वती सापकोटाले जानकरी दिइन् ।

पहिलो चरणमा ल्याइएकामध्ये २६ ओटा बाख्रा कोही साना, कोही बूढो भएका र मापदण्डभित्रका नभएकाले फेरि किसानसँग सहकार्य गरेर ल्याउने गरी ठेकेदारलाई नै फिर्ता गरिएको छ ।

बाख्रा खरीद  र वितरणका लागि केअरफाम नेपाल प्रालि नेपालगञ्जले सम्झौता गरेको थियो । यसका लागि सङ्घीय सरकारको सहयोगमा मुसिकोट नगरपालिकाले संयुक्त बजेटबाट १८ लाख ४२ हजार रुपैयाँको टेन्डर आह्वान गरेको थियो । (आर्थिक अभियान)

Translate »