भारतबाट हुल बाँधेर बर्दिया राष्ट्रिय निकुन्ज छिर्‍यो ४० भन्दा बढी हात्तीको समूह

काठमाडौं- भारतबाट जंगली हात्तीको ठुलो समूह बर्दियास्थित  खाता जैविक मार्गबाट नेपाल प्रवेश गरेको छ । बिहीबार भारतको कतर्नियाघाट बन्यजन्तु आरक्षबाट हात्तीको एक समूह  बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गरेको हो।

बेलुका करिब पाँच बजेतिर ४०–४५ को संख्यामा रहेको हात्तीको समूह निकुञ्ज प्रवेश गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

‘हरेक बर्ष हात्तीहरुको ठूलो समुह यसैगरी भारतबाट नेपाल आउने गरेको छ । यो उनिहरुको नियमित बसाइँसराइ हो। गर्मी सकिएर जाडो सुरु हुन थालेपछि यो समूह भारततिरै फर्कन्छ,’ श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार यो वर्ष निकुञ्जमा प्रवेश गरेको यो हात्तीको सबैभन्दा ठूलो समुह हो । उनले यसअघि पनि १०–१५ वटाको समूह निकुञ्ज प्रवेश गरिसकेको बताए । थोरै संख्यामा हात्तीका अरु समूह पनि भित्रन सक्ने निकुञ्जले जानकारी दिएको छ।

यसपटक नेपाल प्रवेश गरेका हरेक समुहमा छावाको संख्या धेरै छन् । बर्दिया राष्ट्रिय निकुन्जका अनुसार यो समय हात्तीका लागि यो क्षेत्र उपयुक्त हुन्छ, त्यसैले हरेक बर्ष यही समयमा हात्तीका थुप्रै झुण्ड नेपाल प्रवेश गर्ने गरेका छन्।

नेपाल आएका ती हात्ती अहिले निकुञ्जको मुख्य क्षेत्रमा छन् । निकुञ्जको भित्री बाटो हुँदै उनीहरु बबई भ्याली सम्म बिचरण गर्ने गरेको श्रेष्ठले बताए ।

यो समूह बस्तीमा पस्ने खतरा नरहेको उनी बताउँछन् । ‘४–५ वटाको सानो समूह बस्तीमा पस्ने खतरा हुन्छ तर ठूलो समुह बस्तीमा पस्ने सम्भावना कम हुन्छ’, उनले भने ।

नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षको करिब २ किलोमिटर जति एक आपसमा जोडिएको छ । यसरी अर्काको देशसँग जोडिएको भागलाई जैविक मार्ग भन्ने गरिन्छ । जसमध्ये करिब ५ सय मिटर भागबाट नेपाल–भारतका जनावर वारपार गर्ने गरेको श्रेष्ठले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार निकुञ्जमा हाल करिव १००/१२० वटा हात्ती छन् । निकुञ्जका हात्ती बस्ती प्रवेस गरेर जनधनको ठुलो क्षति गर्ने गरेका छन् ।

हात्तीबाट बस्ती जोगाउन थुप्रै प्रयास भएपनि त्यो प्रभावकारी नभएको स्थानीयको गुनासो छ । हात्ती बस्तीमा पस्न नदिन निकुञ्जले मध्यवर्ती क्षेत्रका अधिकांश क्षेत्रमा बस्ति वरपर पर्खाल लगाएको छ ।(देश सञ्चार)

Translate »