मकैमा फौजी कीराको प्रकोप

दोस्रो पटक मकै रोप्दै किसान

सल्यान । सल्यानमा किसानले लगाएको मकै बालीमा फौजी कीराको प्रकोप देखिएको छ । गतवर्षजस्तै यस वर्ष पनि जिल्लामा फौजी कीराको प्रकोप देखापरेको हो । यस वर्ष जिल्लाको सिद्धकुमाख गाउँपालिकाका किसानले लगाएको मकैबालीमा फौजी कीराले क्षति पुर्‍याएको छ ।

मुख्य खाद्यान्नको रूपमा मकै उत्पादन गरी उपभोगका साथै आम्दानी गर्दै आएका किसान फौजी कीराले बोट नै सखाप पार्न थालेपछि चिन्तित भएका छन् ।

सिद्धकुमाख गाउँपालिका वडा नम्बर १ बाँझकाँडामा किसानले लगाएको मकैमा फौजी कीराको प्रकोप देखिएको हो । मकै गोड्ने बेलामा फौजी कीराले नष्ट गर्न थालेको धानटाकुराका किसान दुर्पत बुढाथोकीले बताए । ‘फौजी कीराले मकै सखाप पारेको छ, राम्रो उत्पादन हुने भएकाले मकै रोपेका थियौं, विगतमा यस्तो प्रकोप थिएन,’ उनले भने, ‘पहिलोपटक मकैमा यस्तो समस्या देखा परेको छ ।’

मेलबोटका किसान देवी बुढाथोकीले कीराले मकै सखाप पार्न थालेपछि कतिपय किसानले दोस्रो पटक मकै रोपेको बताइन् । बाँझकाँडाका १ सय बढी किसानले लगाएको मकैमा फौजी कीराको प्रकोप देखापरेको सिद्धकुमाख गाउँपालिका कृषि शाखाले बताएको छ । नायव प्राविधिक सहायक चन्द्रबहादुर केसीले बाँझकाँडाका अधिकांश किसानले लगाएको मकैबालीमा कीराले क्षति पुर्‍याएको जानकारी दिए । केही किसानले लगाएको मकैमा फेद कटुवा कीराको प्रकोप देखिए पनि धेरैजसोमा फौजी कीराको समस्या रहेको उनले बताए । कीरा नियन्त्रणका लागि इमाभेटिन बेन्जोएट नामक विषादी वितरण गरिएको जानकारी उनले दिए ।

कृषि विकास कार्यालय सल्यानले भने जिल्लामा फौजी कीराको प्रकोप देखिएको बारेमा अहिलेसम्म कार्यालयमा खबर नआएको बताएको छ । कार्यालयका प्रमुख महेश आचार्यले मकैको फेद कटुवा कीराको बारेमा जानकारी आएको, तर फौजी कीराले गरेको असरका बारेमा अहिलेसम्म जानकारी नआएको बताए ।

फेद कटुवा कीराले मकैको डाँठ नै काट्ने भएकाले समस्या हुने गरेको भए पनि फौजी कीरालाई भने शुरुआती अवस्थामा नियन्त्रण गर्न सकिने उनले बताए । ‘हामीकहाँ शारदा नगरपालिकाका २/३ ठाउँबाट मकैमा कीराको प्रकोप देखिएको खबर आएको थियो, कटुवा कीराको प्रकोप रहेछ,’ उनले भने ।

फेद कटुवा कीरा दिउँसो बोटको मुनि जरा आसपासमा बस्ने र रातको समयमा डाँठ नै काट्ने भएकाले नियन्त्रणकालागि किसानलाई बढी समस्या हुने उनले बताए । फौजी कीराले मकैको पात, गुभो लगायतका भाग खाने भएकाले विषादी प्रयोग गरेर नियन्त्रण गर्न सकिने उनको भनाइ छ । जिल्लाभर करिब १९ हजार ३ सय हेक्टर क्षेत्रफलमा मकैखेती हुने गरेको छ ।

Translate »