केही दिनभित्रमा नेपालमा मनसुन भित्रिन्छ : मौसमविद्

जेठ २७, काठमाडौं । नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनले केही वर्षा बढ्न थालेको र आगामी हप्ताबाट भने ठाउँठाउँमा भारी वर्षासमेत हुने जानकारी दिए ।

उनका अनुसार पश्चिमी वायुको प्रभाव रहेकाले मनसुन राम्ररी फैलिसकेको छैन । मौसमविद् गङ्गा नगरकोटीका अनुसार हाल देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव कायम रहेको छ ।

त्यसले वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश नं १ का केही भेगमा वर्षा जारी छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पनि वर्षा भएको छ । बिहीवार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रवार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको हुनेछ ।

सामान्यरूपमा विगत १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो । यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ अर्थात् आगामी आइतवार हो । अक्टोबर २ मा बाहिरिने छ ।

सरदर वर्षाको आँकडा विष्लेषण गरेर मनसुनको मिति तय गरिने भए पनि कहिलेकाहीं दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने हुनसक्छ । (रासस )

Translate »