निषेधाज्ञाभर खाद्यान्नमा २० प्रतिशत छुट, विपन्न नागरिकलाई राहत

सागर परियार / जुम्ला । कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा अवधिभर जुम्लामा खा धन्नमा २० प्रतिशत छुट दिँदा विपन्नलाई राहत मिलेको छ ।

बजारमा कालोबजारी र मंहगी बढेपछि मर्कामा परेका सर्वसाधारणलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा जुम्लाले खाद्यान्नमा २० प्रतिशत छुट दिएपछि राहत महसुस गरेका हुन् ।

गत वर्ष १० प्रतिशत छुट दिएको खाद्य संस्थानले यश वर्ष सरकारले कर्णालीमा खा धन्नमा थप सहुलियत र छुट दिने कार्यक्रम ल्याएसँगै जुम्लामा कार्यान्वयन भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा उल्लेखित छुट तथा सहुलियतको जुम्लामा कार्यान्वयन भएको हो ।

अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनबीच भएको बैठकमा सरकारले बजेटमार्फत निषेधाज्ञा अवधिभर छुट सुविधा उपलब्ध गराउने सामग्रीको विवरण सार्वजनिक गरेको हो ।

सोको मूल्य तथा बिक्री हुने स्थानको साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जानकारी गराउने निर्णय भएबमोजिम खाद्यान्नमा २० प्रतिशत छुट रकम कार्यान्वयनमा ल्याएको शाखा प्रमुख तिलक सुनारले बताए ।

उनले भने, “सहुलियत दरमा उपलब्ध गराइएको खाद्यान्न सामग्री खरिद गर्ने ग्राहकको पहिचान खुल्ने कागजातसहितको विवरण र प्रतिपरिवार एक बोरा चामल मात्र उपलब्ध हुनेछ ।”

बजेटमा निषेधाज्ञाभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट बिक्री हुने चामल, पिठो, दाल, नुन, खाने तेल, चिनी तथा ग्यासमा २० प्रतिशत छुट दिने खाद्य प्रमुख सुनारको भनाई छ ।

छुट सुविधा प्रदान गरिने ग्राहकलाई उपलब्ध गराउने उपभोग्य सामग्रीको मासिक कोटा निर्धारण गर्ने, कोटा निर्धारण गर्दा ५ जनाको परिवारलाई एक इकाई मानी सहुलियत सामग्री पहिलो पटक १ महिनाका लागि खाद्य तथा व्यापार कम्पनीबाट ३० केजी चामल र २ केजी सिमीको दाल सहुलियतमा उपलब्ध गराउने निर्णय भएको प्रमुख सुनारले बताए ।

जेठ २१ गतेदेखि शुुरु भएको छुट सुविधा निषेधाज्ञा अवधिभर लागू हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पन्नीद्वारा वितरण गर्दै आएको मोटा, मध्य, मकवानपुर, सोना मन्सुली र स्ट्रिम जिरा चामलमा प्रति बोरा क्रमशः(रु.१२२८, रु.१२००, रु.११५२, रु.१२३१ र रु.१३२००० रुपैयाँ मूल्य तोकिएको छ ।

यो मूल्य विगतको भन्दा करिब ३ सय रुपैयाँसम्म कम हो । प्रति बोरा ३ सय रुपैयाँसम्म छुट भएपछि गाउँका सर्वसाधारणले राहत पाएको खाद्य प्रमुख सुनारको भनाई छ ।

त्यस्तै, साल्ट ट्रेडिङबाट २ केजी पिठो, २ केजी चिनी, २ केजी नुन, १ लिटर भटमास खाने तेल र खाना पकाउने ग्यास १ सिलिन्डर सहुलियत दरमा उपलब्ध गराउने निर्णय भएको छ ।

सहुलियत दरमा उपलब्ध गराइएका सामग्री खरिद गर्ने ग्राहकको पहिचान खुल्ने कागजातसहितको विवरण पेस गर्नुपर्नेछ ।

कोरोना महामारीका बीच सरकारले छुट दिएर सर्वसाधारणको पिडामा मलम लगाएको नागरिक अगुवा राज बहादुर महतले बताए।

Translate »