निर्माण शुरु भएको ९ वर्षसम्म पनि उठेन पुलको जग

जेठ २३, जाजरकोट । निर्माण शुरु गरेको नौ वर्षसम्म अझै भेरी नदीमा पुलको जगसम्म निर्माण हुन सकेको छैन । मध्यपहाडी लोकमार्गअन्तर्गतको भेरी नदीको पुल रुकुमपश्चिम र जाजरकोट जोड्नका लागि निर्माण हुन लागेको हो ।

ठेकेदारको लापरवाहीका कारण पुल निर्माण अलपत्र परेपछि लोकमार्गको रुकुम–जाजरकोट खण्ड निर्माणको कामसमेत अधुरो बनेको छ । ठेक्का सम्झौता भएको तीन वर्षभित्र काम सक्ने गरी पुल निर्माणको जिम्मा वाइपी कन्स्ट्रक्सन प्रालि ललितपुरले ठेक्का लिएको थियो ।

कम्पनीले १०० मिटरको पुल निर्माण गर्न विसं २०६९ मा जिम्मा लिए पनि ३० प्रतिशत काम पनि पूरा हुन नसकेको लोकमार्ग आयोजना कार्यालयले जानकारी दिएको छ । पुल निर्माणका लागि सरकारले रू. १३ करोड ४७ लाख छुट्याएको छ ।

पुल नबन्दा सडक स्तरोन्नतिको काममा समस्या भएको छ । व्यापार/व्यवसाय गर्न कठिन भएको स्थानीय बासिन्दाको गुनासो छ । पुल नहुँदा दुवै जिल्लाका बासिन्दा झोलुंगे पुलबाट आउजाउ गर्न बाध्य भएको स्थानीयवासी नरबहादुर बस्नेतले बताए ।

पुलकै कारण चौरजहारी नयाँ शहर निर्माण आयोजनाको काम पनि प्रभावित भएको छ । ठेकेदार राजुप्रसाद श्रेष्ठको चरम लापरवाहीले पुल निर्माण अलपत्र परेको भेरी नगरपालिकाका उपप्रमुख भावना भण्डारीले बताए ।

पटकपटक म्याद थप्दा र ठेकेदारलाई ताकेतापत्र लेख्दासमेत पुल निर्माणको काम अघि बढ्न नसकेको मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका इञ्जीनियर होमनाथ पौडेलले बताए । पुलको चौरजहारी खण्डतिर पिलर तथा फाउण्डेशन निर्माणको काम भए पनि जाजरकोटतिर कुनै काम भएको छैन ।

कोरोना महामारीको कारण देखाउँदै ठेकेदारले काममा आलटाल गरिरहेको उनको भनाइ छ । पुल निर्माण तत्काल अघि बढाउन ताकेता गर्दै यस वर्ष दुईपटक पत्राचार गरिसकेको कार्यालयले जानकारी दिएको छ ।

इञ्जीनियर पौडेलले भने, ‘पुल निर्माणका लागि शुरुका वर्षमा जग बनाउन समस्या थियो तर अहिले कुनै समस्या नभए पनि ठेकेदारले काममा ढिलाइ गरिरहेको छ, भेरी नदीको बहाव शुरु भइसक्यो, त्यसैले सबस्ट्रक्चरको काम गर्न चुनौती छ । ठेकेदारले पुल निर्माणमा चासो नदिएकाले ठेक्का तोडेर कारवाही अगाडि बढाउने प्रक्रिया थालेका छौँ ।’ सडक विभागको पुरानो डिजाइनअनुसार काम गर्न समस्या भएपछि काममा ढिलाइ भएको वाइपी कन्स्ट्रक्सनका प्रोपाइटर श्रेष्ठले बताए ।

‘पुल निर्माण शुरु भएको दुई वर्षपछि पिलर तथा स्टिलपार्ट भएको पुल डिजाइन रद्द गरी टावरवाला सस्पेन्सन ब्रिज बनाउने डिजाइन बनेको छ, समयमै डिजाइन भएको भए पुलको काम यतिबेला सकिन्थ्यो’, उनले भने । (रासस)

Translate »