‘विद्यापुर क्याम्पसलाई मानव संसाधन केन्द्रको रुपमा विकास गरिनु पर्छ’


स्काई न्यूज /जेठ २२, सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय विद्यापुर जनता बहुमुखि क्याम्पसलाई पश्चिम सुर्खेतको मानव संसाधान विकास केन्द्रको रुपमा विकास गर्न आवश्यक रहेको औल्याईएको छ । क्याम्पसले शनिबार आयोजना गरेको ‘शिक्षाको सर्वार्ङ्गीण विकासमा जनप्रतिनिधिको भुमिका’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले पूर्वाधार विकासले पछाडी पारिएको पश्चिम सुर्खेतसँगै अछाम, दैलेख, कालिकोट, बाजुरा, डोटी, कैलाली र बर्दियाका विद्यार्थीलाई पायक पर्ने पञ्चपुरी नगरपालिका स्थित विद्यापुर बहुमुखि क्याम्पसलाई बैज्ञानिक अनुसन्धान शिक्षा केन्द्रका रुपमा विकास गर्न आवश्यक रहेको बताए ।

अन्तरक्रियामा सहभागि जनप्रतिनिधिले बेरोजगार उत्पादन केन्द्रलाई बन्द गरेर अब आधुनिक गरिखाने शिक्षाको विकासका लागि अघि बढ्नु पर्ने बेला आएको धारणा राखे । उनीहरुले दक्ष मानव संसाधनको अभावले पछाडी परेको पश्चिम सुर्खेतमा आधुनिक शिक्षाको विकासका लागि आ–आफ्नो स्तरबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । रास्ट्रिय सभा सदस्य नन्दा शर्मा, कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्ती, कर्णाली प्रदेश सभा सदस्य यज्ञबहादुर विसी, पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापा, बराहाताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतसँगै पञ्चपुरी नपाका उपप्रमुख, चौकुने र बराहाताल गाउँपालिकाका उपाध्यक्षहरुले क्याम्पसको सर्वार्ङ्गीण विकासमा सबैपक्षको सहभागिता अपरिहार्य रहेको औल्याए ।

उनीहरुले विद्यापुरलाई शैक्षिक केन्द्रकोरुपमा विकास गर्न तीनै तहका सरकारको सामूहिक प्रयासबाट लक्षित उद्देश्य पुरा गर्न सकिने जिकिर गरे । क्याम्पस प्रमुख तीर्थबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा मप विश्वविद्यालयका व्यवस्थापन संकायका डीन दीपबहादुर रावल, पश्चिम सुर्खेतका तीन वटै स्थानीय पालिकाका वडाध्यक्षहरु, क्याम्पस सरोकावाला, शिक्षक, कर्मचारी र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

Translate »