भेरी–बबई आयोजनामा मजदूर र निर्माण सामग्रीको अभाव

आयोजनाको कार्यमा कोरोना महामारीको असर

स्काई न्यूज /जेठ २०, सुर्खेत ।
कोरोना महामारी रोकथामका लागि जारी निषेधाज्ञाका कारण राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम प्रभावित भएको छ ।

सीमित मजदूर र निर्माण सामग्रीको अभावले गर्दा दोस्रो चरणको निर्माणकार्य प्रभावित हुन पुगेको आयोजनाले बताएको छ ।आयोजनाका प्रवक्ता एवं सिनियर डिभिजनल इञ्जिनीयर (सीडीई) ईश्वरीप्रसाद तिवारीले निषेधाज्ञाकै बीच बाँध र विद्युतगृहको निर्माणकार्य सञ्चालन भए पनि मजदूर र सामग्रीको अभाव रहेको बताए।

कोरोना महामारी फैलिएपछि झण्डै १०० जना मजदूर कार्यरत थिए । हाल मजदूरको संख्या घटेर ६० मा सीमित रहेको बताइएको छ । सीडीई तिवारीले आयोजना आसपासमा पर्ने जहरे, रामघाटलगायतका स्थानमा कोरोना सङ्क्रमण फैलिएपछि मजदूर काममा आउन छाडेको बताए ।लामो समयदेखिको निषेधाज्ञाका कारण बजारमा सिमेन्ट, रडको अभाव छ । निर्माण सामग्री उत्पादक कम्पनी बन्द हुनु र बजारमा मोटो तथा गुणस्तरीय सरियाको अभाव रहेकाले आयोजनाको काम प्रभावित हुने समस्या देखिएको छ ।

पहिलो चरणको सुरुङ (टनेल) निर्माणपछि आयोजनाले दोस्रो चरणको काम अघि बढाएको हो । सम्झौताअनुसार आर्थिक वर्ष २०७९/ ८० मा दोस्रो चरणअन्तर्गतका बाँध, विद्युतगृह लगायत संरचनाको निर्माण सम्पन्न गरिसक्नुपर्छ । चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच विसं २०७६ साउनमा दोस्रो चरणको सिभिल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

आयोजनाका अनुसार हालसम्म करीब ४५ प्रतिशत काम सम्पन्न भएको छ । पहिलो चरणमा सुरुङ निर्माण तोकिएको अवधिभन्दा एक वर्षअघि नै सम्पन्न गरेर आयोजनाले प्रशंसा बटुलेको थियो ।

भेरीको पानी बबईमा खसाल्न चिप्लेमा छ गेजसहितको बाँध (ब्यारेज) निर्माण गर्न लागिएको हो । एक सय १४ मिटर लामो र १४ मिटर अग्लो बाँधको निर्माण हुँदैछ । दोस्रो चरणका संरचना निर्माणमा ६ अर्ब १६ करोड ५२ लाख बजेट खर्च हुने बताइएको छ ।

सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमी २१० मिटर लामो सुरुङमार्फत सोही नगरपालिकाको हात्तीखालमा भेरीको पानी खसालेर बबईमा ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ । त्यस्तै लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिंचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य छ ।

Translate »