स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण गर्नेलाई ४ वर्षसम्म कैद! यस्तो छ प्रस्तावित अध्यादेश

 

काठमाडौं– सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संधोन गर्न अध्यादेश ल्याउने तयारी गरेको छ। अध्यादेश मन्त्रिपरिषदमा पेस भइसकेको छ।
अध्यादेशमा संशोधन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मस्यौदा तयार पारी मन्त्रिपरिषदमा समेत पठाइसकेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट स्वास्थ्यखबरलाई प्राप्त मस्यौदा अनुसार स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण गर्नेलाई चार वर्षसम्म जेल सजाय गर्न सकिने व्यवस्थाको प्रस्ताव गरिएको छ।

अध्यादेशमा कसुर र सजाय सम्बन्धी व्यवस्थामा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउन गर्ने, हातपात गर्ने वा शारीरिक रुपमा आघात पुर्‍याउने कार्य गरेमा र स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजनी वा घेराउ गर्नेलाई दुईलाख रुपैयाँसम्म जरिवार वा चारवर्षसम्म कैद वा दुवै सजायको प्रस्ताव गरिएको छ।

यस्तै, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुनै किसिमको धन्मी दिने, मानसिक तनाव दिने वा अपमानजनक व्यवहार गर्ने गरेमा पचार हजार रुपैयाँ सम्म जरिवाना वा एकवर्षसम्म कैद वा दुवै सजाय हुनेछ।

यस्तै कुनै किसिमले स्वास्थ्यकर्मी वा स्वास्थ्यसंस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा बाधा पुर्‍याउने कार्य गरेमा बीस हजार रुपैयाँसम्म जरिवा वा तीन महिनासम्म कैद वा दुवै सजाय हुने भनिएको छ।

उक्त मस्यौदाको पुर्वपक्षको लागि थुनामा राख्ने विषयमा स्वास्थ्य आपतकाल घोषणा भएको वा विपद् संकलग्रस्त क्षेत्र घोषणा भएको वा संक्रमक रोग निर्मुल वा रोकथाम गर्न आदेश जारी भएको अवस्थामा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी लाई घेराउन गर्ने, हातपात गर्ने वा शारीरिक रुपमा आघात पुर्‍याउने कार्य गरेमा र स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजनी वा घेराउ गर्नेलाई तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने भएमा वा कसुरदार हो भन्ने विश्वास गर्ने कुनै मनासिब आधार भएमा अदालतले त्यस्तो अभियुक्तलाई पुर्वपक्षको लागि थुनामा राख्न सकिने व्यवस्था समेत गरिएको छ।

विभिन्न अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएमा चिकित्सक तथा डाक्टरको गल्ती भएको भन्दै बिरामीपक्षका व्यक्तिहरुले अस्पतालमा तोडफोड गर्ने तथा चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आक्रमण गर्ने घटनाहरु भइरहेका छन्।

महामारीको समयमा समेत कोरोना संक्रमतिको उपचारको क्रममा मृत्यु भएपछि भेरी अस्पतालमा गत जेठ १३ गते स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो।

भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथि आक्रमण भएपछि नेपाल चिकित्सक संघ लगाएत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको विभिन्न संघसंस्था तथा संगठनले स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षा सम्बन्धी ऐन,२०६६ लाई संशोधन गरी अध्यादेश ल्याउन समेत माग गरेका थिए।

उनीहरुले कार्यस्थलमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई गैरजमानती कानुनको व्यवस्था गर्न समेत माग गर्दै आएका छन्।

नेपाल चिकित्सक संघले गैर जमानती कानुनको व्यवस्था सहितको अध्यादेश ७ दिनभित्र ल्याउन भन्दै सरकारलाई अल्टिमेटम समेत दिएको छ। संघले २०७४ साल असोजदेखि जेल विथआउट बेलको माग गर्दै आइरहेको छ।

मन्त्रिपरिषदमा पुगेको अध्यादेश छिटो ल्याउन स्वास्थ्यकर्मीले माग गरिरहेका छन्। अध्यादेश राष्ट्रपतिबाट प्रमाणित भएपछि कार्यान्वयनमा आउने छ। (स्वास्थ्य खबर)

Translate »