बाँकेमा थप तीन जना कोभिड संक्रमितको मृत्यु

बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका २९० जना र जिल्लाकै २९३ जनाको मृत्यु भईसकेको छ । बाँकेमा अहिले संक्रमण दरसँगै मृत्यु दर पनि घटिरहेको छ ।

गुरमुरत यादव/ बाँके । बाँकेमा कोरोना संक्रमित थप तीन जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा तीनजना संक्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

जिल्लाका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार, मृत्यु हुनेहरुमा बढैयाताल गाउँपालिका–६ बर्दियाका ४२ वर्षीय पुरुष, बढैयाताल–२ का ४५ वर्षीया महिला र टिकापुर नगरपालिका–८ का ७७ वर्षीय पुरुष हुन् ।

योसँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका २९० जना र जिल्लाकै २९३ जनाको मृत्यु भईसकेको छ । बाँकेमा अहिले संक्रमण दरसँगै मृत्यु दर पनि घटिरहेको छ । अस्पतालमा बेडहरु खाली छन् । जिल्लाका भन्दा जिल्ला बाहिरबाट संक्रमित बिरामीहरु उपचारका लागि अहिले बढि आइरहेका छन् ।

संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी राखेको छ । निषेधाज्ञा जारी रहे पनि बजारमा चहलपहल भने दिन प्रतिदिन बढेको देखिन्छ । संक्रमण दर कम भएको भएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ पालना गर्न चिकित्सकहरुको आग्रह रहेको छ ।

Translate »