लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेसका पाण्डे विजयी

दुर्गालाल केसी / दाङ — लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार दृगनारायण पाण्डे विजयी भएका छन् । उनी प्रतिद्वन्द्वीलाई ५ सय २८ मतभारले पछि पार्दै विजयी भएका हुन् । पाण्डेले ४ हजार १ सय ४० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेद्वार चन्द्रबहादुर खड्काले ३ हजार ६ सय १२ मत पाएका छन् ।पाण्डेलाई कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र उपेन्द्र यादव पक्षीय जनता समाजवादी पार्टी पार्टीको समर्थन थियो । पाण्डे यसअघि एमालेका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य थिए । उनी सांसदबाट राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका थिए । उनी कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–१ निवासी हुन् ।

नेकपा एमालेका तर्फबाट उम्मेद्वार भएका खड्का यसअघि माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य थिए । एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो । खड्का अर्घाखाँचीको मालारानी गाउँपालिका–५ निवासी हुन् । घोराहीमा बिहान ९ बजेदेखि सुरु भएको मतदान ३ बजे सम्पन्न भएको हो । निर्वाचनमा २ सय ९७ मत खसेको थियो । तीन स्थानीय तहका प्रमुख मतदानमा सहभागी भएनन् ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवलशमशेर राणा, नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह र गुल्मीको गुल्मी दरबार गाउँपालिका अध्यक्ष अशोककुमार थापा मतदानमा सहभागी भएनन् । राणा एमाले, कांग्रेस र माओवादीको जुधाइमा सहभागी नहुने भन्दै मतदानमा सहभागी भएनन् भने थापा र शाह बिरामी छन् । थापाको बिरामी भएर काठमाडौंमा र शाहको भारतमा उपचार भइरहेको छ । स्थानीय तह निर्वाचनमा राणा राप्रपा, थापा कांग्रेस र शाह जसपाबाट निर्वाचित भएका थिए ।

मतदानमा १ सय ३४ महिला र १ सय ६३ पुरुष सहभागी भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । मतदानमा सहभागी भएकामध्ये २७ जना कोरोना संक्रमित थिए । उनीहरुका लागि छुट्टै मतदान केन्द्र तोकिएको थियो । प्रदेशसभाका ३ महिला, स्थानीय तहका १९ महिला र ५ पुरुष मतदाता कोरोना संक्रमित थिए । प्रदेशसभाका ८३ सदस्यहरु नै मतदानमा सहभागी भए । स्थानीय तहका २ सय १४ मतदाता सहभागी भए ।

Translate »