बाँकेमा जेठ २४ गतेसम्म लम्बियो निषेधाज्ञा

नवीन गिरी/ नेपालगन्ज । बाँकेमा जारी गरिएको निषेधाज्ञा जेठ २४ गतेसम्म लम्बिएको छ ।
वैशाख १३ गतेदेखि जारी निषेधाज्ञालाई पछिल्लो पटक जेठ १७ गतेसम्म निरन्तरता दिइएकोमा अब जेठ २४ गते राति १२ बजेसम्म लम्ब्याइएको हो ।
जिल्लामा कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एक साता बढाइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

नेपालगन्ज उपमहानगरपालिकामा भने वैशाख ८ गते राति १२ बजेदेखि नै निषेधाज्ञा लगाइएको थियो ।
यो अवधिमा अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा निषेध गरिएको छ । पसल व्यवसाय सञ्चालन, सवारी साधन र अत्यावश्यक काम बाहेकको हिंड्डुलमा पनि निषेध गरिएको छ ।
बैङ्क तथा बिमा, बीउ विजन, कृषि औजार, विषादीका पसल, निर्माण सामग्री पाइने पसल सीमित भने स्वास्थ्य मापदण्ड अपनाएर खोल्न पाइनेछ ।
दैनिक उपभोग्य बस्तु खरिदका लागि भने बिहान ७ देखि १२ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पसल सञ्चालन गर्न दिइनेछ ।

Translate »