चीनमा अब तीन सन्तान जन्माउन पाउने

जेठ १७,काठमाडौं । चीनले आफ्नो मुलुकमा बस्ने दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अधिकार दिने निर्णय गरेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सरकारले दुई सन्तान नीतिमा परिवर्तन गर्दै तीन सन्तानको नीति घोषणा गरेको हो । चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो मिटिङमा राष्ट्रपति सि जिनपिङले उक्त नीतिलाई स्वीकृति दिएका हुन् ।

चीनको जनसंख्या वृद्धिदर दशकयताकै सबैभन्दा कम रहेको तथ्यांक सार्वजनिक भएको केही समयमा नै चीनले यस्तो घोषणा गरेको हो । जनसंख्या वृद्धिदर कम देखिएसँगै चीनलाई दुई सन्तानको नीति हटाउन दबाब बढेको हो ।
यसअघि सन् २०१६ मा चीनले विवादित एक सन्तान नीति अन्त्य गर्दै एक दम्पत्तीले दुई सन्तान जन्माउन पाउने नीति ल्याएको थियो । यद्यपि यो नीतिले पनि चीनमा जन्मदर बढाउन भने सहयोग गरेन । उक्त नीतिको दुई वर्ष जन्मदरमा केही वृद्धि देखिए पनि त्यसमा पुनः गिरावट देखिएको हो ।


चीनले सन् १९७९ मा जनसंख्या नियन्त्रणको लागि भन्दै एक सन्तानमात्र जन्माउन पाउने नीति ल्याएको थियो । जतिबेला चीनको जनसंख्या ९७ करोड थियो । विश्व बैंकको तथ्यांकअनुसार त्यसयता चीनको जनसंख्या ४१ करोड ७० लाख बढेको छ । यद्यपि जनसंख्याको वृद्धिदर भने उल्लेख्यरुपमा घटेको छ ।

पछिल्लो समय जन्मदर निकै कम देखिएकाले भविष्यमा चीनमा वृद्धहरुको संख्या धेरै हुन सक्ने आशंकाको कारण चीनले जन्मदर बढाउने उपाय अहिले खोजिरहेको छ । यसै क्रममा सन् २०१६ मा चीनले एक सन्तान नीति हटाउँदै दुई सन्तान जन्माउन पाउने नीति ल्याएको थियो । यो नीतिले पनि जन्मदर बढाउन नसकेपछि चीनले तीन सन्तानको नीति ल्याएको हो ।

एक सन्तान नीतिको कारण चीनमा लैङ्गिक असन्तुलनको समस्या पनि देखिएको थियो । सन् २०२० मा चीनमा पुरुषको संख्या ७२ करोड ३३ लाख छ थियो भने महिलाको संख्या ६८ करोड ८४ लाख मात्र छ । त्यसैले यस किसिमको असन्तुलन हटाउन पनि दुई सन्तान नीतिले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अपेक्षा गरिएको थियो ।

अहिले ल्याएको नीतिले ग्रामीण र सहरी भेगमा फरक(फरक प्रभाव पर्न सक्ने जानकारहरु बताउँछन् । चिनियाँ नीति निर्माणको टोलीका एक सदस्यले रोयटर्ससँगको अन्तर्वार्तामा भनेका थिए, ‘यदि हामीले यो नीतिको बन्धन हटायौं भने ग्रामीण भेगमा बस्ने मानिसले सहरमा बस्नेले भन्दा धेरै सन्तान जन्माउन चाहन्छन् र यसले अन्य समस्या निम्त्याउन सक्छ ।’

यसअघि जानकारहरुले चीनको जनसंख्यामा कमी आए त्यसको असर चीनमा मात्र नभई विश्वभर नै हुन सक्ने चेतावनी दिएका थिए । विस्कोन्सिन–म्याडिसन युनिभर्सिटीका वैज्ञानिक यि फुसियान भन्छन्, ‘चीनको अर्थतन्त्र निकै तीवै गतिमा बढ्दै आएको छ र विश्वभरका उद्योगहरु चीनमा निर्भर छन् । यस्तोमा चीनको जनसंख्यामा कमी आउनुको असर ठूलो हुन सक्छ ।’ –एजेन्सीहरुको सहयोगमा

Translate »