लिम्पियाधुरा, लिपुलेक र कालापानीको बारेमा के भने प्रधानमन्त्री ओलीले ?

जेठ १४,काठमाडौं ।
प्रधानमनत्री केपी शर्मा ओलीले भारतले मिचेको नेपालको भुभागहरु फिर्ता ल्याउन संवाद भइरहेको बताएका छन्। बालुवाटारमा अन्तरारष्ट्रिय सञ्चारमाध्यमसँगको कुराकानीमा उनले वार्ता भइरहेकाले आफ्नो भुमी फिर्ता ल्याउन केहि समय लाग्ने जिकिर गरे।प्रधानमन्त्री ओलीको भनाई जस्ताको त्यस्तैः
‘महाकालीभन्दा पूर्वको र त्यस ठाउँमा महाकालीभन्दा उत्तरपूर्वको भनौँ । महाकालीपूर्वको जमिन नेपालको जमिन हो । र हामीले हाम्रो जमिन हाम्रो राजनीतिक तथा प्रशासनिक नक्सामा सामेल गरेर पास गरेका छौँ । त्यसलाई संविधानको अनुसूचीमा पनि सामेल गरेका छौँ । यस सम्बन्धमा हामी भारतसँग गम्भीरताका साथ कुराकानी गरिरहेका छौँ तर यथार्थ के हो भने विगत ५८ वर्षदेखि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतको नियन्त्रणमा रहेको छ । हामीले संवादको माध्यमबाट त्यस क्षेत्रलाई फिर्ता ल्याउनुछ । जबसम्म भारतको निणन्त्रणमा छ र फिर्ता आएको छैन । तबसम्म फिर्ता आएको स्तरमा व्यवहार भएको हुनसक्ने कुरा भएन । ५८ वर्षदेखि त्यो भारतकै नियन्त्रणमा छ । हामीले भारतको नियन्त्रणबाट फिर्ता ल्याउने प्रयास गरिरहेका छौँ । त्यसमा संवाद गरिरहेका छौँ ।’

छिमेकीसँग केही कुरामा मतभेद वा गलत बुझाइ हुनसक्ने भन्दै उनले सबै समस्याको समाधान वार्तामार्फत गरिने बताए । कतिपयले आफूलाई भारतसँगको सम्बन्ध बिगारेको र कतिपयले भारतको इशारामा काम गरिरहेको भन्ने आरोप लगाउने गरेको भन्दै उनले आपसमा विवादास्पद यी दुवै आरोपहरु कसरी सत्य हुन सक्छन् भनी प्रश्न गरे । (नेपाली पब्लिक)

 

Translate »