सुर्खेत डेरी उद्योगद्वारा कोरोना संक्रमितलाई निःशुल्क दुध, मही

सामाजिक उत्तरदायित्व निर्वाहमा अब्बल बन्दै सुर्खेत डेरी

स्काई न्यूज /जेठ १३, सुर्खेत ।
सुर्खेत डेरी उद्योगले कोभिड­१९ विरुद्धको लडाईमा सहयोग गर्ने उद्देश्यले प्रदेश आयुर्वेद औषधालयको कोरोना आईसोलेशनमा उपचाररत विरामीका लागि निःशुल्क दुध र मही उपलब्ध गराउने भएको छ । उद्योगले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड­१९ का विरामीहरुलाई प्रभावकारी ढंगले उपचार गर्दै आएको प्रदेश आयुर्वेद औषधालयलाई दैनिक ६ लिटर दुध र हप्तामा १ एक दिन मही निःशुल्क उपलब्ध गराउने भएको हो ।

कोरोना संक्रमित भएर उपचारका लागि आईसोलेशनमा रहेका विरामीलाई छिटो सञ्चो हुन सहयोग पुगोस् भन्ने उद्देश्यले एक महिनासम्म दुध र मही सहयोग गरिने उद्योगका प्रबन्ध निर्देशक माधव धिताले बताए । उनले कोरोना महामारीका बेला धेरै ठूलो सहयोग गर्न नसकिएपनि शक्ति र सामाथ्र्यले भ्याएसम्म उद्योगले सामाजिक उत्तरदायित्व बहन गरिरहने जनाए ।

‘प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिले कोरोना संक्रमित भएर टाढा–टाढाबाट उपचारका लागि आएका विरामीलाई एक दिन मही सहयोग गर्न फोन मार्फत आग्रह गर्नु भयो,’ उनले भने, ‘यस्तो विपद्को घडिमा कोरोनाले आजित भएका नागरिएका लागि एक दिन मात्र किन ? हामी एक महिना निःशुल्क दुध र मही उपलब्ध गराउने बचन दिएका हौं ।’

उनले आफ्नो सामाजिक उत्तरदायित्वलाई सर्वोपरी ठानेर मानवताको सेवाका लाग उद्योग हरसम्भव सहयोग गर्न तयार रहेको जिकिर गरे । यता प्रदेश आयुर्वेद औषधालयका डाक्टर शंकरप्रसाद रिजालले औषधालयको आग्रहलाई स्वीकार गरेर सुर्खेत डेरी उद्योगले कोरोना संक्रमितका लागि निःशुल्क दुध र मही उपलब्ध गराएको प्रति धन्यवाद व्यक्त गरे ।

त्यस्तै औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले मुनाफा मात्र नहेरी सुर्खेत डेरी उद्योगले शुरुदेखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई सर्वोपरी ठानेर समाज सेवा गर्दै आईरहेको बताए । उनले समृद्ध कर्णालीका लागि आउँदा दिनहरुमा पनि आयुर्वेद औषधालय र सुर्खेत डेरी उद्योगसँग हातेमालो गरेर अगाडि बढिने जनाए ।

Translate »