कर्णालीका पाँच अस्पताललाई ११ करोड बढी

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि

स्काई न्यूज /जेठ १३, सुर्खेत ।
संघीय सरकारले कर्णाली प्रदेशका पाँच वटा अस्पताललाई ११ करोड बढी रकम सुनिश्चित गरेको छ । आइसियु र भेन्टिलेटरको व्यवस्था गर्न अर्थ मन्त्रालयबाट ११ करोड ४० लाख रुपैयाँ सुनिश्चित गरिएको हो । कोभिड–१९, का कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आइसियु र आइसियु भेन्टिलेटरको थप व्यवस्था गर्न उक्त रकम खर्च गरिने छ ।

सरकारले रुकुम पश्चिमको मुसिकोट अस्पताल, मुगु अस्पताल र सुर्खेतको मेहलकुना अस्पताललाई तीन/तीन करोड रुपैयाँ पठाएको छ । थप आइसियु भेन्टिलेटरका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, र प्रदेश अस्पताल सुर्खेतलाई १ करोड २० लाख रुपैयाँका दरले स्रोत रकम सुनिश्चित गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माग गरे अनुरुप अर्थ मन्त्रालयले कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि बजेट सुनिश्चित गरेको हो ।

सरकारले कर्णाली प्रदेशसहित देशभरका ४१ वटा अस्पतालका लागि १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित गरेको छ । कोभिड–१९, का कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आइसियु र आइसियु भेन्टिलेटरको थप व्यवस्था गर्न सेती प्रादेशिक अस्पताललाई ६ करोड, गजेन्द्रनारायण अस्पताललाई ९ करोड, तुलसीपुर अस्पताललाई ९ करोड र भक्तपुर अस्पताललाई १२ करोड रुपैयाँ सुनिश्चित गरिएको हो ।

सरकारले गजेन्द्रनारायण अस्पताल, भेरी अस्पताल, डडेलधुरा अस्पताल, नारायणी अस्पताल, कोशी अस्पताल, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भने १ करोड २० लाख रुपैयाँका दरले स्रोत सुनिश्चित गरेको छ । अर्थ मन्त्रालयले मेची अस्पताल र धौलागिरि अस्पताललाई ६० लाख रुपैयाँका दरले र सेती प्रादेशिक अस्पताल तथा महाकाली अस्पताल र भरतपुर अस्पताललाई २ करोड ४० लाख रुपैयाँका दरले स्रोत सुनिश्चित गरेको छ ।

Translate »