कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गरी ९० दिनभित्र रिपोर्ट पेस गर्न बाइडेनको आदेश

काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनले गुप्तचर निकायलाई कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गरी ९० दिनभित्र रिपोर्ट पेस गर्न आदेश दिएका छन् ।

कोरोना भाइरसको उत्पत्तिका बारेमा विवाद बढिरहेका बेला राष्ट्रपति बाइडेनले गुप्तचर निकायलाई कोरोना भाइरसको उत्पत्ति कहाँबाट भयो भन्ने कुरा पत्ता लगाई ९० दिनभित्र रिपोर्ट पेस गर्न आदेश दिएका हुन् ।

बाइडेनले बुधबार एक वक्तव्य जारी गर्दै अमेरिकी गुप्तचर निकायलाई आदेश दिएका हुन् । उनले भनेका छन्, ‘आफ्ना प्रयासलाई अझै बढाउनुहोस् र ९० दिनभित्र यसको रिपोर्ट पेस गर्नुहोस् ।’ राष्ट्रपति बाइडेनले कोरोना भाइरस जनावरबाट मानिसमा सरेको हो वा प्रयोगशालामा भएको दुर्घटनाले फैलिएको हो भन्ने कुरा पत्ता लगाउन पनि आदेश दिएका छन् ।

कोरोना भाइरसको संक्रमणको पहिलो घटना सन् २०१९ को डिसेम्बरको अन्त्यमा चीनको हुबेई प्रान्तको राजधानी वुहानमा देखिएको थियो । कोरोना भाइरसबाट अहिलेसम्म विश्वभर १६ करोड ८० लाखभन्दा बढी संक्रमित भएका छन् भने करिब ३५ लाखको ज्यान गएको छ । चिनियाँ प्रशासनले वुहानको सीफूड मार्केटमा पहिलो पटक संक्रमण देखिएको दाबी गर्दै आएका छन् । वैज्ञानिकहरुले कोरोना भाइरस चमेरो हुँदै कुनै जनावरमार्फत मानिसमा सरेको प्रबल सम्भावना रहेको बताउँदै आएका छन् ।

तर केही दिन पहिले अमेरिकी सञ्चारमाध्यममा छापिएको रिपोर्टमा भने वुहानस्थित एक प्रयोगशालाका कर्मचारी बिरामी भएको बताइएको थियो । अमेरिकी गुप्तचर निकायको रिपोर्टलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलमा प्रकाशित एक रिपोर्टमा वुहानमा कोरोना भाइरसको संक्रमित भेटिनुअघि नै वुहानस्थित एक प्रयोगशालाका कर्मचारी बिरामी भएको दाबी गरिएको छ । तर उक्त रिपोर्टको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।पश्चिमा देशहरुले कोरोना भाइरस प्रयोगशालामा तयार पारिएको हुन सक्ने कुरालाई जोड दिँदै आएका छन् । तर चीनले भने उक्त कुरालाई कडा रुपमा नकार्दै आएको छ ।

यसअघि मार्चमा विश्व स्वास्थ्य स‌ंगठन(डब्लूएचओ) ले वुहानको स्थलगत भ्रमण र अनुसन्धानपछि प्रतिवेदन सार्वजनिक गर्दै कोरोना भाइरसको उत्पत्ति प्रयोगशालामा तयार भएको भन्ने आरोपलाई खारेज गरेको थियो । डब्लूएचओले कोरोना भाइरसको उत्पत्तिबारेको अध्ययनको प्रारम्भिक प्रतिवेदनमा कोरोना भाइरस जनावरबाट मानिसमा सरेको बताइएको छ । चमेरो र सालकले कोरोना सारेको हुन सक्ने प्रारम्भिक अध्ययनमा बताइएको छ ।

डब्लूएचओको प्रतिवेदनमा फार्ममा पालिएको जंगली जनावर कोरोना भाइरस सार्ने प्रमुख स्रोत भएको हुन सक्ने सम्भावना बलियो भएको बताइएको छ । तर कोरोना भाइरसको उत्पत्तिको स्रोत मानिएको चमेरोले कुन जनावरलाई संक्रमित बनायो भन्नेचाहिँ अध्ययनमा खुल्न सकेको छैन । चमेरोबाट कुनै जनावरमा सरेर त्यसपछि मानिसमा कोरोना भाइरस सरेको हुन सक्ने प्रतिवेदनमा जनाइएको छ ।

अन्तर्राष्ट्रिय विज्ञ सम्मिलित डब्लूएचओको टिम अध्ययनका लागि जनवरी १४ देखि फेब्रुअरी १४ सम्म कोरोनाको उत्पत्तिस्थल मानिएको चीनको वुहान पुगेको थियो । अध्ययन टोलीमा १७ जना चिनियाँ र विभिन्न मुलुकका १७ जना विज्ञ सहभागी थिए ।

अमेरिका, बेलायत, क्यानडा, जापान, नर्वे, डेनमार्कलगायतका विभिन्न १४ मुलुकले भने डब्लूएचओको प्रतिवेदनमा प्रश्न उठाएका थिए । त्यस्तै युरोपेली युनियनले पनि कोरोना भाइरसको उत्पत्तिबारे अझ अनुसन्धान हुनुपर्ने र त्यो स्वतन्त्र हुनुपर्ने बताएको थियो । (कान्तिपुर)

 

Translate »