मेरो नजरमा माधव नेपाल


–रामप्रसाद पराजुली

    माधव नेपालसित मेरो पहिलो भेट २०४६ सालपछि २०४८ सालको पहिलो संसदीय निर्वाचनपूर्व दिल्लीमा भयो थियो । कुनै कार्यक्रम विशेषले माधव नेपाल र विद्वान मोदनाथ प्रश्रित आउनुभएको थियो । आउनुको मूल कारण चाहिँ प्रवासी नेपाली समुदायमाझ निर्वाचनका निमित्त आर्थिक सहयोग जुटाउन, भारतीय साथीभाइ र भाइचारा दलहरूसित अन्तरक्रिया आदि गर्न रहेछ अलिकपछि मात्र थाहा लाग्यो । मलाई प्रवासका जिम्मेवारहरूले उहाँहरूसित दिल्ली घुम्ने, आवश्यक सरसहयोग गर्ने काम दिनुभएको थियो । यहिं सिलसिलामा दिल्लीको नारायणाको सत्यपार्कको खुल्ला मैदान दिल्ली र आसपासका प्रवासी नेपाली आन्दोलनका तमाम नेता र कार्यकर्तालाई लिएर आउने थप जिम्मेवारी दिनुभयो । न्यून आय आम्दानीमा घर गृहस्थ चलाएर बसेको मेरो अवस्था चाहेर पनि मनग्यै खर्च गर्न सक्ने अवस्था थिएन । तथापि, कम्युनिष्ट आन्दोलन, पार्टी संगठन र नेतृत्व भनेपछि मन जे पनि तयार हुन्थ्यो । खल्ती टकटकाउँदा निक्लिएको १ सय ५० रूपैयाँ खर्च गरेर त्यो भेला जुटाउने काम गरेको छु । भेला सम्पन्न भयो । भेला राम्रो भएको समिक्षा भयो । तर, भेला जुटाउन लाग्ने कार्यकर्ता के–कति लगानी भयो ….. अहँ, सोधिएन् । यसपछि पनि पटक–पटक, धेरैपटक उहाँसँग भेट भयो । दिल्ली आउँदाजाँदा भेट भइरह्यो । कहिल्यै त्यो विशेष बेलाको सम्झना भएन । त्यो विशेष बेलाको मात्र होइन, एउटा खास बेलामा साथ दिने साथी समेत सम्झनामा रहेनछ । परिचय गर्नुपर्ने अवस्था विकास हुन थाल्यो । त्यहिंबेलादेखि कस्तो स्वभावको मानिस होला– माधव नेपाल, मनभरि कुरा खेलिरहन्थ्यो । २०५० साल जेठ ३ गतेको प्रलयकारी जीप दुर्घटनापछि उहाँ पार्टी प्रमुख हुनुभयो । गत्तिलो मानिस त महासचिव हुनुभएन– मनमा लागिरहन्थ्यो, कसैलाई भनिनँ । उहाँको नेतृत्वमा पार्टीले निर्वाचनमा भाग लियो । जननेता मदनकुमार भण्डारीको ओजस्वी राजनीतिक राततापको प्रभाव र उहाँको सम्मानमा बहुसंख्यक जनमतले पत्यायो । निर्वाचनमा नेकपा (एमाले) ठूलो दल भयो । ठूलो दल भएपछि पार्टी अध्यक्ष कमरेड मनमोहन अधिकारीको नेतृत्वमा सरकार गठनको प्रक्रिया अघि बढ्यो । कम्युनिष्ट आन्दोलनको आदर्श पुरूष कमरेड मनमोहन अधिकारीको मन्त्रीमण्डलमा उहाँ कमरेड माधव नेपाल उपप्रधानमन्त्री बन्नुभयो । पार्टी संगठनात्मक काम र राजकीय कामको दोहोरो गति र अन्तरसम्बन्धले पार्टीलाई गतिशील तुल्याउन प्रयास भइरहेको थियो । यत्तिकैमा आयोजित पार्टीको ऐतिहासिक पाँचौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानमा पार्टीको प्रमुख नेता सरकारमा नजाने स्पष्ट थियो । सरकारमा जार्नुपर्ने व्यक्ति विशेष उम्रिएको उहाँको तीब्र महत्त्वाकांक्षाका व्यवस्थापनका लागि पार्टी विधानको यो व्यवस्थालाई लत्याउँदै तत्कालीन अवस्थामा पार्टी कामको जिम्मेवारी कमरेड बामदेव गौतमलाई दिनुभयो । आफ्ना लागि विधानको व्यवस्थालाई लत्याउन सक्ने उहाँ कस्तो नेता होला ? फेरि मलाई यसले च्वास्स घोच्य !  कमरेड बामदेव गौतमको नेतृत्वमा नेकपा (एमाले) को राजनीतिक–संगठन र सरकारबीचको कामको तालमेल असाध्यै आकर्षित थियो । कमरेड बामदेवले यसबीचमा असाधारण क्षमता देखाउनुभयो । कार्यकर्तामा जननेता मदनकुमार भण्डारीको अभावपूर्तिको भूमिकामा रहेर कमरेड बामदेवले पार्टी संगठनको बिस्तारमा एउटा भिन्न खालको गति र उचाइै लिनुभयो । पूर्वाधार विकास र भौतिक निर्माणदेखि लिएर पार्टी शुद्धिकरण र सुदृढिकरणमा ‘नौ’ सको कार्यक्रममार्फत सिंगो पार्टी निर्देशित भयो र सलह परिचालित भयो । सहायक भूमिकामा रहनुभएका कमरेड बामदेवले असाधारण र चमत्कारिक काम गर्नुभयो । देश नै एमालेमय भयो । स्थानीय समुदायआधारित मुद्धाहरूमाथि जनसंगठनहरू क्रियाशील हुने र सरकारमार्फत यसको सम्बोधन र व्यवस्थापनमा जोड दिनुपर्ने काममको अगुवाइ कमरेड बामदेवले गर्न थाल्नुभयो ।

कमरेड बामदेव गौतमको नेतृत्वमा नेकपा (एमाले) को राजनीतिक–संगठन र सरकारबीचको कामको तालमेल असाध्यै आकर्षित थियो । कमरेड बामदेवले यसबीचमा असाधारण क्षमता देखाउनुभयो । कार्यकर्तामा जननेता मदनकुमार भण्डारीको अभावपूर्तिको भूमिकामा रहेर कमरेड बामदेवले पार्टी संगठनको बिस्तारमा एउटा भिन्न खालको गति र उचाइै लिनुभयो ।

यता आदर्श पुरूष मनमोहन अधिकारी नेतृत्वका सरकार र अर्कोतिर गतिशील नेता बामदेव गौतमको प्रत्यक्ष नेतृत्वबाट परिचालिन पार्टी नेकपा (एमाले), वैरी विपक्षीलाई सह्य भएन । सरकार ढाल्ने तरखरमा एमालेबाहेकको सिंगो शक्ति लाग्यो । अन्ततः ९ महिनामै सरकार ढल्यो । ढलेपछि सरकारमा गएका नेता माधव नेपाल पुनः पार्टी प्रमुखको भूमिकामा आउनुभयो । नेता कमरेड बामदेव गौतम नेतृत्वकालमा प्रभावशाली बन्दै गएको पार्टी कामले सोहीअनुसार गति लिँदा माधव नेपाल कमजोर हुने स्थितिको अध्ययन र निष्कर्षपछि बामदेवलाई कमजोर पार्ने, असहयोग गर्ने, उनकाविरूद्ध गुटबन्दी गर्ने र सम्पूर्ण रूपले खुइलयाउने अभियानमा स्वयं माधव नेपाल धर्नाढुक्क भएर लागे । छैटौँ राष्ट्रिय महाधिवेशनमा आइपुग्दा यो दिउँसोको घाम झैँ छर्लङ देखियो, पटापेक्ष भयो । महाधिवेशनमा पेश हुने कार्यनीतिक दस्तावेजको लेखनको जिम्मामा रहनुभएका बामदेवलाई छुटाएर अर्का नेता कमरेड केपी शर्मा ओलीलाई अघि सारियो । नेता बामदेव गौतमको राजनीतिक व्यक्तित्वबाट झस्कनु र उहाँलाई पाखा लगाउन प्रयास गर्नु माधव नेपालको नीचतहको हर्कत थियो यो । यसपछि के भयो ? सबै कुरा छर्लङ छ, धेरै सन्दर्भहरू यहाँ उठाइरहन पर्दैन् । लगातार १५ दिनसम्म नेपालगञ्जमा कमरेड बामदेव गौतमलाई परस्पर लडाउने र भिडाउने काम भयो पार्टीको प्रमुख नेतृत्व माधव नेपालद्वारा । मूल नेतृत्वमा रहेका माधव नेपालको भूमिका निर्णायक हुनुपर्ने तर नियोजित ढंगले झनझन खितलो र फितलो थियो । कतिसम्म भने एउटा महत्त्वपूर्ण दस्तावेज लेखनको जिम्मेवारी दिएको व्यक्तिलाई महाधिवेशनको मञ्चमा बोल्नसमेत दिइएन । यतिबेलासम्म बामदेव गौतमको बढ्दो लोकप्रियताबाट खुट्टा कमाएर बसेका माधव नेपालले परिस्थितिलाई सम्हाल्न सकेनन् । उनी सिरकभित्र बसेर मख्खन खाने स्वभावको नेता– परस्पर भिडाएर आफू एक्लो बर्चस्व सहित उपस्थित हुन चाहन्थे । महाधिवेशबाट निर्वाचित कमिटीमा १४ जनालाई राखिदिनुस् भनेर कमरेड बामदेवले अनुनयविनय गर्दा ८ जनाभन्दा बढी राख्न सकिन्न भन्दै अत्यन्तै हचुवातालको हेलाँ र घृणाले भरिएको व्यवहार भयो । आफ्नो महासचिवको पदमाथि प्रश्न उठ्छ, दादागिरी अन्त्य हुन्छ, एकलौटी बर्चस्व सकिन्छ भन्ने मनौवैज्ञानिक त्रासबाट उठ्न सकेका थिएनन् माधव नेपाल ।

लगातार १५ दिनसम्म नेपालगञ्जमा कमरेड बामदेव गौतमलाई परस्पर लडाउने र भिडाउने काम भयो पार्टीको प्रमुख नेतृत्व माधव नेपालद्वारा । मूल नेतृत्वमा रहेका माधव नेपालको भूमिका निर्णायक हुनुपर्ने तर नियोजित ढंगले झनझन खितलो र फितलो थियो । कतिसम्म भने एउटा महत्त्वपूर्ण दस्तावेज लेखनको जिम्मेवारी दिएको व्यक्तिलाई महाधिवेशनको मञ्चमा बोल्नसमेत दिइएन । यतिबेलासम्म बामदेव गौतमको बढ्दो लोकप्रियताबाट खुट्टा कमाएर बसेका माधव नेपालले परिस्थितिलाई सम्हाल्न सकेनन् ।

न नीति–विधिमाथि सघन छलफल, न प्रस्तावित दस्तावेज लेखनसम्बन्धी अभिव्यक्ति राख्न दिइने स्थिति, न नेतृत्वको सम्मान र व्यवस्थापन अन्ततः पार्टी विभाजन भयो । म अहिले पनि ढुक्कसँगले भन्न सक्छु– माधव नेपालले चाहेको भए त्यो बेला पार्टी विभाजन रोकिन सक्थ्यो । यसपछि लगत्तै निर्वाचन आइरहेको थियो । एकलौटी बहुमतको सरकार बन्न सक्थ्यो । नेपाली कम्युनिष्ट आन्दोलनको मुहार नै अर्को हुन्थ्यो अहिलेसम्म । विडम्बना १ यस्तो भएन । माधव नेपालको पदमोह र महत्त्वाकांक्षाका कारण पार्टी विभाजन भयो । एमाले र माले बन्यो नेकपा । मुलुकमा राजनीतिक अस्थिरताको खेल सुरू भयो । यहिँ अस्थिर राजनीतिक भूमिरीबाट माओवादी पनि जन्मियो ।  परिस्थिति यसरी विकास भइरहँदा पनि पार्टी विभाजनको एकोहोरो दोष चाहिँ नेता कमरेड बामदेव गौतममाथि मात्र थोपरियो । इतिहासको एउटा कालखण्डमा यसको समिक्षा हुँदै जाँदा पुनः पार्टी एकिकरण भयो । एकतापछि बनेको नेकपा (एमाले) मा पनि जननेता मदनकुमार भण्डारीका राजनीतिक बैचारिक सहयात्री कमरेड बामदेवलाई होच्याउने, अपमान गर्ने र क्रमशः कमजोर पार्ने काम हुँदै गयो– मूल नेतृत्वमा रहनुभएको नेता माधव नेपालद्वारा । मूलधारमा उभिएर यसको राजनीतिक बैचारिक कामको अगुवाइ गर्न सक्ने नेतालाई कहिले संगठन विभाग, कहिले स्कुल विभाग, कहिले बिदेश विभाग, कहिले आर्थिक विभाग आदिको जिम्मेवारी दिइनु आफैंमा उहाँलाई थन्क्याइनु मात्र थिएन त ? सजिलैसँग अध्ययन अनुमान लगाउन सकिन्छ । एउटा पार्टीको प्रमुख नेतृत्वमा रहनुभएको उहाँलाई एकतापछि अखिल नेपाल किसान महासंघको जिम्मा लगाउनु हाँस्यास्पद होइन थियो त ? यहाँबाट पनि माधव नेपालको योग्यताको मापन गर्न सकिन्छ ।  माधव नेपाल आफ्ना समकालीन नेताहरूको खोइरो खन्ने र उनीहरूलाई कसरी पाखा लगाउन सकिन्छ ? भनेर अहोरात्र गृहकार्य गर्ने पात्र हुन् । नवौं राष्ट्रिय महाधिवेशन कक्षमा आइपुग्दा यहिं दृश्य दोहोरियो कमरेड केपी शर्मा ओलीमाथि । जननेता मदनकुमार भण्डारीको दुःखद् देहावसानपछि १५ वर्षसम्म नेतृत्व गरिसक्नुभएको उहाँले फेरि नेतृत्वमा आउन जरूरी थियो ? आफू अघि नसरेर कमरेड केपी शर्मा ओलीसँग अर्को कुनै नयाँ–नौलो र सम्भावनाले भरिएको सिर्जनशील राजनीतिक अनुहारलाई अघि सारको भए उहाँको राजनीतिक हाइट र वैट घट्ने थिएन, निश्चय नै बढ्ने थियो । त्यो पनि भएन । यहाँ पनि उहाँको नियतमा खोट थियो, पदप्रति लालसा प्रकट भएको थियो भनेर मज्जाले अध्ययन गर्न सकिन्छ । पार्टीको ऐतिहासिक महाधिवेशनको राजनीतिक संगठनात्मक कक्षबाट निर्वाचित पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको सक्रियता माधव नेपाललाई सह्य थिएन । अपेक्षाकृत यो सरकारले प्रत्येक प्रतिकूल बेलामा राम्रा काम गरेको छ । हामी लाखौं कार्यकर्ताले हाम्रा काम भन्नलायक काम गरेको छ । यसबाट तिलमिलाएका माधव नेपालले आफ्नो नामोनिशान साफ हुने भयो भन्ने डरले जनयुद्ध धङधङीबाट भरखरै संगठन गर्न लागेको प्रचण्डसँग सहकार्य गर्दै ओलीको उपस्थितिविरूद्ध खेल्न थाल्नुभयो । कम्युनिष्ट हुनुको नाताले कमरेड प्रचण्डसँगको सहकार्य र परस्पर विश्वासयोग्य वातावरणको आदानप्रदान त ठीकै थियो, उहाँ त कमरेड केपी शर्मा ओलीलाई सर्वत्र सक्न नेपाली काङ्ग्रेसको सभापति शेरबहादुर देउवाको समेत पाउ मोल्न पुग्नुभयो । यो अर्को दुर्भाग्य निम्त्याउने खेल बेलामै पर्दाफाश भएको छ, नत्र कत्रो ठूलो दुर्घटना व्यहोर्नुपर्ने हुन्थ्यो ।

कम्युनिष्ट हुनुको नाताले कमरेड प्रचण्डसँगको सहकार्य र परस्पर विश्वासयोग्य वातावरणको आदानप्रदान त ठीकै थियो, उहाँ त कमरेड केपी शर्मा ओलीलाई सर्वत्र सक्न नेपाली काङ्ग्रेसको सभापति शेरबहादुर देउवाको समेत पाउ मोल्न पुग्नुभयो । यो अर्को दुर्भाग्य निम्त्याउने खेल बेलामै पर्दाफाश भएको छ, नत्र कत्रो ठूलो दुर्घटना व्यहोर्नुपर्ने हुन्थ्यो ।

२०५४ सालदेखि अहिलेसम्म माधव नेपाललाई अध्ययन गर्दा उहाँ सम्पूर्ण विभाजनको दोषी मात्र होइन, आफ्नै प्रधानमन्त्रीविरूद्ध नेका सभापति देउवासँगको मोर्चाबन्दी गर्नुले नेपाली जनताको वर्गवैरी नै हो भन्ने प्रष्ट भएको छ । दलीन अनुशासनलाई तोडेर निर्दलीय उपस्थिति भएजस्तै आफू सहित दर्जनौं सूर्य चिन्ह ध्वाजाबाहक उम्मेदारको समर्थनका नाउँहरू लिएर अदालत पुग्नुभएको छ । यसले दलीय व्यवस्थाको विकल्पमा माधन नेपालको ध्याउन्न देखिन्छ । हामी नेपाली जनता, तिनका माझ स्थापित कार्यकर्ता र सम्पूर्ण नेतृत्ववर्ग बेलाछँदै सचेत र सजग भएनौं भने दुर्गतिसिवाय हाम्रालागि हातलगी केही हुने छैन ।

उहाँको बारेमा कुनै विद्रोह र आन्दोलन होइन, अध्ययन–अनुसन्धान र अन्वेषण गर्नुपर्छ । यसबेला हामीले निम्नानुसारका विषयहरूमा प्रस्टोक्ति लिन जरूरी छ ।

१) पार्टीको एतिहासिक पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादको दोस्रो पृष्ठमा उल्लेख भएको नेपाली क्रान्तिसम्बन्धीका प्रस्तावित र पारिक अवधारणालाई अनावश्यक ठान्नुभएको थियो, किन ?

२)  बयोबृद्ध तथा सन्तनेता मनमोहन अधिकारीलाइ शक्तिहिन बनाई तपाईं कार्यकारी उपप्रधानमन्त्री बन्नुभएको होइन रु नेपालको पहिलो कम्युनिष्ट सरकार भनेर सहन गरिदिएको होइन ?

३) यतिबेला नेता कमरेड बामदेव गौतमको उपस्थिति, आवश्यकता र सक्रियता खाँचो हुने महसुस तपाईंलाई सरकार ढलेपछि नेता गौतमलाई लखेट्न र सक्न लाग्नुभएको होइन ?

४) आफूसँग फकर मत राख्ने अर्थात् बिपक्षमा लाग्ने नेता सीपी मैनाली, केशवलाल श्रेष्ठ, गोपाल शाक्य, त्रिलोचन ढकाल, टंक कार्की, घनश्याम भुसाल, योगेशकुमार भट्टराई, केशब स्थापित र दयालबहादुर शाहीजस्ता दर्जनौं नेता कार्यकर्तालाई सक्ने तपाई होइन रु तथापि, तपाईंलाई पार्टी अनुशासनका नाउँमा अभिभावक मानिदिएको होइन ?

५) राजतन्त्रविरोधी आन्दोलनको ज्वार सिर्जना भइरहेको बेला प्रतिगमन आधा सच्चियो भनि प्रतिबेदन पेश गर्ने तपाई होइन र रु मूल नेताले भनेपछि हामीले मान्नुपर्छ भनेर मानिदिएको होइन  ?

६)  यसलगत्तैपछि प्रधानमन्त्रीका लागि घुँडा टेकेर राजासमक्ष बिन्तिपत्र हाल्नुभयो होइन रु तथापि, एउटा विज्ञापनको अवस्था थियो, उहाँले निवेदन हालेको हो भनेर हामीले मानिदिएको होइन ?

७)  तपाईले थाहै नदिइकन राजासमक्ष दाम चढाउनु भयो । दाम चढाउनु तत्कालीन समाज–व्यवस्थाको उपज थियो । एकखालको संस्कार थियो । यत्ति गर्दैमा बिग्रेको केही पनि छैन भनिदिने हामी कार्यकर्ता नै होइन ?

८) २०५२ पछि माओवादी र वाइसीएलका हिंस्रक गतिविधि, ज्यादति, उदण्ड हर्कत र बर्बरतामा तपाईं मौन बस्नुभयो । मारिएका आफ्ना कार्यकर्ताका नाउँमा र सम्मानमा विज्ञप्ति समेत निकाल्न सक्नुभएन । परिस्थिति यस्तै हो स्वयंलाई सम्झाइबुझाइ बस्ने हामी होइनौं ?

९)  २०६४ मा सम्पन्न निर्वाचनमा पार्टीले शर्मनाक हार व्यहोर्नुपर्ने स्थिति आयो । यस्तो हो– लुटपाटको माओवादी राजनीतिक । मानिसले डरत्रासले पनि यसपटक हामीलाई भेट दिएनन् भनेर पनि तपाईंलाई नेता मानिदिने हामी नै होइन ?

१०)   सधैं पहिलो हुने हाम्रो राजनीतिक बैचारिक हिसावले पनि समुन्नत एवं गौरवशाली पार्टीलाई ३० सिटमा झारेर तेस्रो बनाइदिनुभयो । यसबेला पनि उचित नेतृत्व हस्तान्तरण नगरी पार्टीलाई माझसडकमा छोडिदिनु भयो । तथापि, तपाईको उच्च नैतिकता भनिदिने पनि हामी होइनौं ?

११) पार्टीका विधानमा २ कार्यकाल पार्टी प्रमुख भएपछि तेस्रो कार्यकालमा नेतृत्वमा आउन नपाउने, हुन नपाउने व्यवस्थालाई महासचिव पो भए त, अहिले अध्यक्षमा यो लागू हुन्न भन्नुभयो । हामीले सर्लक्कै मानिदियौं, यो गलत भयो र रु तपाईंलाई यहिँनेर यहीं नपचेको हो ?

१२) नवौं राष्ट्रिय महाधिवेशनमा आफ्नै कार्यकर्ताबाट शर्मनाक पराजित भएपछि पार्टीको बरियताक्रममा पधाधिकारीभन्दा पछिको स्थायी कमिटी सदस्य हुन पर्नेमा सिनियर नेतालाई तेस्रो नम्बरको वरिष्ठ नेता मानिदिएको होइन र रु पार्टी फोर्ने गतिविधिमा नलागिदिनुस् भन्ने अनुनय–विनयलाई मान्नुभएको छ ?

१३)  तपाईं पार्टी बिदेश विभाग प्रमुख हुँदा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम काठमाण्डौंमा गराउनुभयो । होलिवाइनको चुस्कीले घुमाएकै भरमा मन्त्री बनाउनु र प्रधानमन्त्रीलाई समेत गुमराहमा राख्नुभयो । यो पनि केही भएन भनेर तपाईंलाई नेता मानेको होइन ?

१४)  एमाले–माओवादी एकतामा उत्पाद् गर्न खोज्नुभयो, छलछाम गर्न खोज्नुभयो र एकतानै भाड्न खोजेपछि अध्यक्षहरूपछिको हैसियतमा वरिष्ठ बनाइदिएको होइन र रु समाज हैसियतको व्यक्तिको नेतृत्वमा रहेको सरकार ढाल्न नेपाली काङ्ग्रेस सभापति देउवाको पाउ मोल्नुपर्ने अवस्था कसरी आयो रु हामी कार्यकर्तालाई भन्नुपर्दैन र ?

१५) एमाले अध्यक्ष कमरेड केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड जवाफदेयी पार्टी एकताको पक्षलाई टुंगो लगाउन तपाईंले भनेअनुसार कार्यविभाजन र भागबण्डा गरिदिएको होइन र ! अध्यक्षविरूद्ध महागठबन्धनको तयारी भइरहँदा नेपाली काङ्ग्रेस सभापति देउवाको शरणमा पुग्नुभयो । यो तपाईले पाएको मान सम्मानको पक्ष सम्झिनुपर्ने होइन ?

१६) पार्टी प्रमुखका हैसियतले १५ वर्षसम्म लगातार तपाईले नेतृत्व प्रदान गर्नुभएका निर्वाचित अध्यक्ष केपी शर्मा ओली पक्षधर कार्यकर्तालाई ओलीका दास, भेडा, घाँस खाने प्राणीहरू भन्नुभयो । यो पनि सहेको होइन ?

१७)  एकातिर पार्टी एकताको प्रक्रिया टुंगो लागेकै छैन, अर्कोतिर तपाईं ओलीको ओजविरूद्ध समानान्तर कमिटी बिस्तार गर्दै हिड्नुभयो । बृहद् नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाहको रूपमा एकिकृत पार्टी निर्माणका लागि तपाईंको अनुचित् हर्कत पनि सहेर बस्ने हामी कार्यकर्ता नै होइनौं ?

१८)  माओवादी अध्यक्ष प्रचण्डको गोटी बनेर सौताका रिसले पोइको काखमा …… भने झैँ तपाईंले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउनुभयो । आफू सग्लो र चोखो हुनुभयो तर त्यहिँ पनि ४ जनाको राजनीति समाप्त पारिदिनुभयो । यो अक्षम्य गल्तीलाई पनि सहेर बसिदिने हामी कार्यकर्ता नै होइनौं ?

१९) आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदबाट विश्वास मत लिने प्रयास भइरहँदा आफ्ना अगुवापछुवा २७ जनालाई अनुपस्थित गराउने खेलको खलनायक तपाईं नै होइन ?

२०)  एमालेका लागि संसद सदस्य समेत त्याग गरेका वरिष्ठ बामपन्थी नेता, जो निशर्त एमाले बन्नुभयो– कमरेड रामबहादुर थापा बादललाई स्थानीयका २८ र प्रदेसका १३ पार्टी अनुशासनहिन जनप्रतिनिधिलाई स्वतन्त्र उम्मेदवारको स्वतन्त्र चुनाव चिन्हमा भोट हाल्न उर्दी गर्ने नालायक राजनीतिकपात्र तपाईं नै होइन ?

२१)  पछिल्लो ३ महिनादेखि यताको प्रयासमा ३–३ दिनसम्म वैकल्पिक सरकार दिन नसक्ने नेका, माओवादी केन्द्र र जसपाको एक झुण्ड देउवा, प्रचण्ड, उपेन्द्र र बाबुरामलाई भाँडेर र जोडेर आफ्ना २७ जना होनाहार नेता कार्यकर्तालाई समेत झापाको जेलबाट इलाम लैजाने बहानामा सुखानीको जङ्गलमा ५ जना योद्दालाई पञ्चले मारे झैं देउवाको शरणमा लगेर बलि चढाउने तपाईं कृतघ्न कुपात्र होइन ?

२२)  भरखरै मात्र संसद भवनमा र सवोच्च अदालतमा २३ जना निवर्तमान माननीयलाई लेकतिरका भेडाबाख्राजस्तै प्रचण्ड–देउवाको पसलमा जाक्ने, कोच्ने र बेच्ने तपाईं नै होइन ?
२३)  आसन्न दशौं राष्ट्रिय महाधिवेशन र आवधिक निर्वाचनअघि नै दुई तिहाई केन्द्रीय सदस्यको दुहाई दिँदै यसलाई ओली नेतृत्वको कम्युनिष्ट आन्दोलनको बचाउ गर्न नेपाली काङ्ग्रेस सभापति शेरबहादुर अगाडि आइदिनुपर्ने भयो भन्ने तपाई नै होइन ?  भरखरै एकिकरणको प्रक्रियामा आएका प्रचण्डलाई उचालेर निर्वाचित अध्यक्षलगायत नेतृत्वलाई पटकपटक कारबाही गर्ने तपाई नै होइन ?

यो लगायत अरू थुप्रै कर्म, कुकर्म गर्ने तपाई । यसलाई शीरोधार्य गर्ने अर्थात् सहेर बसिदिने हामी । अहंकार, कुण्ठा, पदलोलुपताको गणित नाप्ने तपाईं । त्याग, निष्ठा, इमान, सदाचार, लगन र कर्मानुसारको जिम्मेवारी बहन गर्ने हामी । आखिर यो कहिलेसम्म ?

योबाहेक अध्यक्ष कमरेड केपी शर्मा ओलीको कार्यशैलीमा कमिकमजोरी भए आउनुस्– संस्थागत ढंगले कुरा गरौँ, कम्युनिष्ट आन्दोलनलाई बचाऔँ ! नत्र, तपाईंको सर्वसत्तावादी महत्त्वाकांक्षा पूरा गर्ने अभियानको मलामी बन्न सकिँदैन । भीरबाट झर्न लागेको गाइलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन । एउटा सानो गुटको होइन, राजनीतिक बैचारिक हिसावले सुस्पष्ट कम्युनिष्ट आन्दोलनको जग बसाल्न योगदान गर्ने भए अहिलेसम्म हामीले बुझेको तपाईं माधव नेपाललाई नयाँ आँखाले नयाँ क्षितिजबाट बुझ्ने प्रण सहित लाल सलाम !

लेखकः– एमालेका पुराना नेता हुन् । माथागढी १, चिदीपानी, जिल्ला पाल्पा निवासी उहाँ जागिर पेशाको सिलसिलामा पश्चिम विहार, दिल्ली बसाइँ गर्दै आउनुभएको छ ।

Translate »