बिक्री भएन सल्यानका किसानले उत्पादन गरेको तरकारी

दीपक शर्मा / सल्यान । प्रशासनले निषेधाज्ञा जारी गर्दा सल्यानका किसानले उत्पादन गरेको तरकारी बिक्री हुन सकेको छैन ।
विश्वभर फैलिएको कोभिड१९ को सङ्क्रमण फैलिन नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गर्दा बजारमा लिन तयार भएको तरकारी बिक्री नहुँदा किसानहरू चिन्तित भएका छन् ।
बजारसम्म तरकारी पुर्‍याउन र पुर्‍याएको तरकारी पनि बिक्री नभएपछि तरकारी बारीमै सड्न थालेको शारदा नगरपालिका ६ बरलाका किसान लोक बहादुर भण्डारीले बताए ।१४ रोपनीमा लगाएको तरकारी बिक्री नहुँदा काटेर फाल्नु पर्ने अवस्था आउन थालेको उनको भनाई छ । उनले भने, ‘बजार सबै बन्द छन् को आएर हाम्रो तरकारी किनिदिने हो र ? किन्ने मान्छे नै आउँदैनन् ।’


गत वर्षको बन्दाबन्दीले भन्दा यो वर्षको निषेधाज्ञाले किसानलाई बढी घाटा पुर्‍याएको उनले बताए। यो वर्ष कोरोनाले धेरै मानिस निधन भएकोले पनि मानिस डराएर कोही पनि बारीमा तरकारी किन्न नआउने गरेको उनको भनाई छ ।
१४ रोपनीमा लगाएको मुला, काँक्रो, सिमी, बन्दा, करेला लगायतका तरकारी बिक्री नभएपछि लगानी नै उठाउन गाह्रो भएका भण्डारीले बताए ।
गत वर्ष लकडाउन भए पनि ८ लाख आम्दानी भएको भए पनि यो वर्ष भने एक दुई लाख हुन्छ की हुँदैन चिन्ताले सताउन थालेको छ ।


निषेधाज्ञा नहुँदै तरकारी टिप्ने समय नभएको र टिप्ने समयमा लकडाउनले बजार पठाउन नपाएको अर्का किसान प्रदीप वलीले बताए । उनले भने, ‘सिमी, बन्दा , धनियाँ, काँक्रो छिप्पिएर काम नलाग्ने भइसकेका छन् ।’तरकारीको बिक्रीले नै घर खर्च टार्ने किसानहरू आम्दानी नभएपछि मर्कामा परेको वलीको भनाई छ । उनले भने, ‘तीन रोपनीमा लगाएको तरकारी अहिलेसम्म बिक्री भएको छ । अबको एक हप्ताभित्र तयार भएको तरकारी बजार पठाउन नसकिए काटेर फाल्नु पर्ने हुन्छ ।’
जिल्लाबाट वार्षिक ३० देखि ३५ करोडको तरकारी जिल्ला बाहिर निकासी हुने गर्दछ ।

Translate »