चक्रवातका कारण मंगलवारदेखि वर्षा र हिमपातको सम्भावना

: पर्वतारोहीलाई सतर्कता अपनाउन आग्रह

जेठ १०, काठमाडौं । पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मंगलवारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ ।

उक्त न्यून–चापीय क्षेत्र सोमवार चक्रवातमा परिणत भएको र मंगलवारसम्ममा धेरै शक्तिशाली चक्रवातमा परिणत हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाखाशाले प्रक्षेपण गरेको छ ।

सो प्रणालीका कारण मंगलवार अपराह्नपछि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली भई वाग्मती प्रदेश र प्रदेश नं १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले उच्च हिमाली भूभागमा हावाहुरी, हिमपात र वर्षाको सम्भावना रहेकाले मंगलवारदेखि केही दिनसम्म पर्वतारोहीलाई मौसमअनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरेको छ ।

देशका धेरै स्थानमा बुधवारदेखि केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा बिहीवार कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ ।

यो मौसममा मेघगर्जन/चट्याङ/हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने जानकारी दिइएको छ ।( रासस)

Translate »