टेलिकमले ‘धन्यवाद स्वास्थ्यकर्मी अफर’ उपलब्ध गराउने

काठमाडौँ । नेपाल टेलिकमले कोभिड–१९ को महामारीमा सङ्क्रमणको परवाह नगरी फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खट्ने चिकित्सक, नर्स, फार्मेसिष्ट लगायत सबै स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि ‘धन्यवाद स्वास्थ्यकर्मी अफर’ उपलब्ध गराउने भएको छ ।
त्यस सम्बन्धी सम्झौतामा आइतबार नेपाल टेलिकम र नेपाल चिकित्सक परिषद्–नेपाल नर्सिंंग परिषद्–नेपाल फर्मासिष्ट परिषद्–नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल आयुर्वेदिक परिषदबीच हस्ताक्षर सम्पन्न भएको छ ।
अफर अन्तर्गत देशभरका स्वास्थ्यकर्मीहरुले प्रयोग गरिरहेको आफ्नो नाममा रहेको नेपाल टेलिकमको पोस्टपेड–प्रिपेड सिम कार्डमा एक महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराइने छ ।
स्वास्थ्यकर्मीहरुले आफ्नो मोबाइल नम्बरबाट नेपाल टेलिकमको नेटवर्कभित्र जुनसुकै समयमा गर्ने कल निःशुल्क गरिनेछ । पोस्टपेड मोबाइलको हकमा भने नियमानुसार लागु हुने रेन्टल चार्ज कायमै रहनेछ ।
स्वास्थ्यकर्मीहरूको सूची र मोबाइल नम्बरसहितको आधिकारिक पत्र स्वास्थ्यसँग सम्बन्धित परिषदहरु (नेपाल चिकित्सक परिषद्, नेपाल नर्सिंंग परिषद्, नेपाल फर्मासिष्ट परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल आयुर्वेदिक परिषद्) ले आफ्नो लेटर हेडमा नेपाल टेलिकमलाई उपलब्ध गराए पश्चात् यो अफर उपलब्ध गराइने नेपाल टेलिकमले जनाएको छ ।
स्वास्थ्यकर्मीहरूको आफ्नै नाममा रहेको सिम कार्डमा मात्र उल्लिखित अफर उपलब्ध हुने भएकाले आफ्नो नाममा कम्पनीको सिम कार्ड नहुने स्वास्थ्यकर्मीहरुले नयाँ सिम कार्ड लिनका लागि सम्बन्धित परिषद्को आधिकारिक लेटर प्याडमा स्वास्थ्यकर्मीको नाम तथा विवरण उल्लेख गरी नेपाल टेलिकमलाई उपलब्ध गराउनु पर्नेछ ।
स्वास्थ्यकर्मीको सम्बन्धित परिषद्को परिचय पत्रका आधारमा नयाँ सिमका लागि भर्नुपर्ने फाराम नियमानुसार भरी नेपाल टेलिकमको नजिकको काउन्टरबाट तत्कालै निःशुल्क सिम प्राप्त गर्न सकिने छ । यसरी प्राप्त गरिने नयाँ सिममा उल्लेखित धन्यवाद स्वास्थ्यकर्मी अफर समावेश गरिने नेपाल टेलिकमले जनाएको छ ।(रेडियो नेपाल)
Translate »