अछाममा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि

टेकराज भण्डारी/ अछाम । अछाममा पीसीआर परीक्षणबाट आइतबार थप ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा १ सय २० नमुना परीक्षण गरिएकोमा ९६ जनामा संक्रमण पुष्टि भएको हो । पञ्चदेवल विनायक नगरपालिका, चौरपाटी गाउँपालिका र कमलबजार नगरपालिकाका १ सय २० बासिन्दाको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा २३ जना महिला र ७३ जना पुरुषमा कोरोना संक्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले जानकारी दिए । आज थपिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाका रहेका छन् । नगरपालिकाको वडा नम्बर २, ३, ४, ६ र ९ का २२ जना महिला र ६९ जना पुरुष गरी ९१ जनामा संक्रमण देखिएको छ । यस्तै कमलबजार नगरपालिका वडा नम्बर ६ , ९ र १० का १ जना महिला र २ जना पुरुष गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी बिष्टले जानकारी दिए । उनका अनुसार चौरपाटि गाउँपालिका वडा नम्बर १ र २ का २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कमलबजार पिसिआर प्रयोगशालामा ६ हजार ४ सय १७ जनाको कोरोना परीक्षण गर्दा १ हजार ८ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अछाम जिल्लामा कोरोना महामारीको दोस्रो लहरमा १६ सय २८ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये ९ सय ६७ जना सक्रिय संक्रमित रहेका छन् भने १४ जनाको ज्यान गएको छ ।

Translate »