एमालेका एघार पूर्व सांसदलाई स्पष्टीकरण सोधिने

काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका ११ निवर्तमान सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले आफ्नो दलका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षीसँग मिलेर हस्ताक्षरमा संलग्न भएको आरोप उनीहरूलाई लगाएको छ । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, मुकुन्द नेपाल, पुष्पाकुमारी कर्ण, कलिला खान, नीरादेवी जैरु र लक्ष्मीकुमारी चौधरीसँग स्पष्टीकरण सोध्ने निर्णय गरिएको जानकारी दिए ।

स्पष्टीकरणका आधारमा पार्टीले थप निर्णय गर्ने बताइएको छ ।   जवाफ यही जेठ १० गतेभित्र पेश गर्न भनिएको छ । उनले कम्युनिस्ट पार्टीलाई कमजोर बनाउन र आफ्नो सरकार गिराउन विपक्षीसँग गरिएको साँठगाँठबारे गम्भीरतापूर्वक छलफल गरिएको बताए। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सिफारिस गर्न एमाले नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका थिए। यसअघि पनि पार्टीका केही नेतासँग स्पष्टीकरण सोधिएको थियो । तीमध्ये नेपाल, रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेलाई कारबाही गरिएकामा केही दिनअघि भएको स्थायी कमिटी बैठकले फुकुवा गरेको थियो । पार्टी कार्यदलले समस्या समाधान गरिरहेका अवस्थामा पार्टीकै नेताका कारण फेरि समस्या आएको उनको भनाइ थियो ।  उनले गत वैशाख २७ गते संसद्मा अनुपस्थित भएर केही साथीहरूले जुन गल्ती गरे फेरि त्यो गर्नुहुन्न भन्ने प्रधानमन्त्रीलाई लागेको उनले बताए। पार्टीले कोरोना भाइरसविरुद्धको लडाइँमा आफ्नो ध्यान केन्द्रित गर्ने निर्णय पनि गरेको छ । (रासस)

 

 

Translate »