मन्त्रिपरिषदको निर्णय : प्रतिनिधिसभा भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव


जेठ ८, काठमाडौं ।
शुक्रबार मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचन घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेपछि प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलर् अनुसार कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनका लागि मिति तय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गरिएको जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेकी थिइन् । राष्ट्रपतिको निर्णयपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दै नयाँ चुनावको मिति तोकेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको यो दोस्रो पटक हो । यसअघि गत पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गर्दै चुनावको मिति तोकेका थिए । तर फागुन ११ गते सर्वोच्च अदालतले ओलीको कदम असंवैधानिक भएको ठहर गर्दै प्रतिनिधिसभा पुनस्स्थापना गरिदिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ‘मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको’ जनाउँदै सरकार निर्माणका लागि राष्ट्रपतिलाई धारा ७६ ९५० अन्तर्गतको प्रक्रिया अघि बढाउन अनुरोध गरेका थिए । त्यसै अनुरोधबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सरकार गठनका लागि आह्वान पनि गरेकी थिइन् । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, नेकपा एमाले माधव नेपाल समूहका २६, जसपा उपेन्द्र यादव र बाबुराम भट्टराई समूहका १२ र जनमोर्चाका १ गरी १४९ जना सांसदको समर्थन आफूलाई भएको दाबी गरेका थिए । त्यस्तै ओलीले पनि एमालेका सबै १२१ र जसपाका ३२ सांसद गरी आफूलाई १५३ सांसदको समर्थन रहेको दाबी राष्ट्रपतिसमक्ष पेस गरेका थिए । (कान्तिपुर)

Translate »