‘रुख चढेर फोन गर्नुपर्ने अवस्था हट्यो’

रामचन्द्र न्यौपाने / डोल्पा। तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकाले एकै पटक तीनवटा मोवाइल टावर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि सञ्चार सेवाको असुविधा भोग्दै आएको गाउँपालिकाले एकैपटक ‘टु जी’ इन्टरनेट सेवासहितका तीनवटा नमस्ते मोवाइल फोन सेवाका टावर सञ्चालनमा ल्याएको हो । भौगोलिक विकटताका कारण विगतदेखि नै फोन सेवाको समस्या भोग्दै आएको मुड्केचुलामा करीब ४२ लाख खर्चमा नमस्ते सेवाका मोवाइल तीनवटा टावर एकैपटक सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । ‘टावर निर्माणका लागि आवश्यक यन्त्र उपकरण नेपाल टेलिकमले उपलब्ध गराएको हो, निर्माणस्थलसम्म सामान ढुवानी गर्न तथा जडानका लागि लागेको सबै रकम गाउँपालिकाले खर्च गरेको छ,’ अध्यक्ष शाहीले भने । टावर निर्माणसँगै गाउँपालिकाका नौवटै वडामा सञ्चार सेवामा जोडिनुका साथै जाजरकोट र रुकुम केही क्षेत्रमा पनि फोनले राम्रो काम गर्ने गरेको अध्यक्ष शाहीले बताए । गाउँपालिका भित्र पर्ने ओक्ट, प्यारी लेक, पाती हाल्नामा टावर खडा गरिएको छ ।
घरबाटै फोन सेवा
गाउँपालिकाले टावर निर्माण गरेसँगै स्थानीयवासी खुशी भएका छन् । घर आँगनबाटै देश विदेशमा कुरा गर्न पाउँदा निकै खुशी लागेको वडा नं १ बस्ने स्थानीय ओमबहादुर रोकायले बताए । पहिला फोन गर्न अग्लाडाँडा, ढुङ्गा र रुख चढ्नु पथ्र्यो, खबर आदानप्रदान गर्न मान्छे नै कुदाउनु पर्ने अवस्था थियो, अहिले घरमै बसेर टाढाटाढा रहेका आफन्तहरुसँग ढुक्कले कुराकानी गर्न पाइएको छ,’ रोकायले भने । यसअघि भरपर्दो फोन सेवा नहुँदा पुरानै युगमा बाँचे जस्तो हुने गरेतापनि अहिले गाउँघरका सबै सर्वसाधारणले सुविधा पाएको रोकायको भनाइ छ । कर्णाली प्रदेश सांसद वीरबहादुर शाहीको विशेष पहलमा तीन वर्षअघि जगदुल्ला, मुड्केचुला गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा छ वटा मोवाइल टावर स्वीकृत भएका थिए ।
आजभन्दा तीन वर्षअघि काठमाण्डौ पुगेको स्थानीय जनप्रतिनिधिसहितको टोलीले एउटा स्थानीय तहमा दुईवटा टावर बनाउने गरी छ वटा टावर सुचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट स्वीकृत गराएको सांसद शाहीले बताए । ‘त्यसमध्ये मुड्केचुलाले बनाइसकेको छ, जगदुल्लामा गाउँपालिकामा सक्रियतामा टावर निर्माणको ७० प्रतिशत धेरैकाम भइसकेको छ, त्रिपुरासुन्दरीमा स्थानीय तहले चासो नदिँदा दुईवटै टावर नेपालगञ्जमा अलपत्र परेको छ,’ सांसद शाहीले भने । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाअन्तर्गत पर्ने साल्दाङ्ग, शे–फोक्सुण्डोलगायतका क्षेत्रमा टावर स्वीकृत गराउनका पनि आफूले सहयोग गरेको बताए । टेलिफोन जस्तो आधारभूत सेवा प्राप्त गरेपछि स्थानीयवासी सूचना र सञ्चार प्रविधिमा जोडिन पाएको भन्दै खुसी भएका छन् ।

Translate »