जाजरकोटका युवा व्यवसायी पुनद्वारा बारेकोटलाई ४ थान अक्सिजन सिलिण्डर सहयोग

माया घर्ती/जाजरकोट ३, जेठ ।
जाजरकोटका युवा व्यवसायी धीरेन्द्र पुनले बारेकोट गाउँपालिकालाई ४ थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । महामारीको रुपमा फैलिएको कोभिड–१९, बाट संक्रमण भई अक्सिजन नपाएर बिरामी छटपटाई रहेका बेला पुनले ४ थान अक्सिजन सिलिन्डर सहयोग गरेका हुन् । उनले गाउँमा कोरोनाबाट संक्रमित विरामीलाई सहजता पुहोस् भन्ने उद्देश्यले ४ थान अक्सिजन सिलिण्डर सहयोग गरेको बताए । उनले १ लाख २० हजार मुल्य पर्ने ती अक्सिजन सिलिण्डर गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहलाई हस्तान्तरण गरे ।

‘गाउँपालिकालाई विपद्का बेला सानै सहयोग गर्नपाएनि नागरिक दायित्व बोध भएको छ,’ उनले भने, ‘अहिलेलाई चार वटा मात्र दिन पाएपनि आवश्यक परेमा थप अक्सिजन सिलिण्डार सहयोग गर्नेछु ।’ यता गाउँपालिका अध्यक्ष शाहले अक्सिजन अभावमा कोरोना संक्रमितहरु तड्पिएको अवस्थामा पुनले गरेको सहयोगले ठूलो राहत पुग्ने बताए । हाल जाजरकोट जिल्लाभरी ६० वटा अक्सिजन सिलिन्डर मात्र छन् । त्यसमा जिल्ला अस्पतालमा ३८ वटा, भेरी नगरपालिकामा १२ वटा, नलगाड नगरपालिकामा ४ वटा र बारेकोटमा ६ वटा अक्सिजन सिलिन्डर रहेका छन ।

Translate »