बिरामीका आफन्तलाई अक्सिजन खोज्न नलगाउन मन्त्रालयको निर्देशन

कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ हजार नाघ्यो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचारका लागि आवश्यक अक्सिजनको व्यवस्था अस्पताल आफैँले मिलाउन सबै अस्पतालहरूलाई निर्देशन दिएको छ । मन्त्रालयको आजको मिडिया व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बिरामीका आफन्तलाई अक्सिजनको व्यवस्था गर्न नलगाउन अस्पतालहरूलाई आग्रह गरे। प्रवक्ता प्रा डा गौतमले बिरामीका लागि आवश्यक अक्सिजनको व्यवस्था मिलाउने जिम्मेवारी सम्बन्धित अस्पतालको भएको बताए । यसैबिच आज नेपालमा थप ७ हजार ३ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज पिसिआर परीक्षणबाट ७ हजार ३ सय १६ जना तथा एन्टिजेन परीक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


आज देशका विभिन्न प्रयोगशालामा गरी जम्मा १९ हजार ५ सय ३९ नमुनाको पिसिआर तथा ३ सय ४४ नमुनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले बताए । प्रवक्ता प्रा. डा। गौतमले मन्त्रालयको आजको मिडिया विफ्रिङ्मा दिएको जानकारी अनुसार आज काठमाडौँमा १ हजार ८ सय ८१ जना ललितपुरमा ४ सय ३६ जना र भक्तपुरमा २ सय ९२ जना गरी काठमाडौँ उपत्यकामा जम्मा २ हजार ६ सय ९ जना संक्रमित थपिएका छन् । यसैगरी आज थप १ सय ४५ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कूल सङ्ख्या ५ हजार १ पुगेको छ । यस्तै आज थप ६ हजार ६ सय ४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मुक्त हुने दर ७४ दशमलव ६ प्रतिशत रहेको र देशभरमा गरी जम्मा १ लाख १० हजार २ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये १ लाख २ हजार ४ सय ५५ जना होम आइसोलेसनमा रहेका छन् भने बाँकी ७ हजार ८ सय ८ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिए ।(रेडियो नेपाल)

Translate »