भारतमा एकै दिन ४ हजार जनाको मृत्यु

जेठ २,नयाँ दिल्ली । कोरोना भाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय संकट झेलिरहेको भारतमा विगत २४ घण्टामा थप चार हजार ७७ जनाको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा तीन लाख ११ हजार नयाँ संक्रमित भेटिएका छन् भने तीन लाख ६२ हजार संक्रमणमुक्त भएका छन् । शनिवार दैनिक मृत्यु दरमा सामान्य कमी आएर तीन हजार ८९० जनाको ज्यान गएको थियो । भारतमा हालसम्म कोभिड–१९ बाट मृत्यु भएकाको संख्या दुई लाख ७० हजार पुगेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमितको कुल संख्या दुई करोड ४६ लाख ८४ हजार पुगेको छ जसमध्ये दुई करोड सात लाख ९५ हजार व्यक्ति संक्रमण मुक्त भएका छन् ।

भारतमा गत जनवरीमा कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरेको थियो । हालसम्म १८ करोड २२ लाख व्यक्तिलाई खोप दिइएको मन्त्रालयले जानकारी दिएको छ । गत मे १ देखि भारत सरकारले १८ वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिलाई खोप दिने योजना अघि सारे पनि पर्याप्त खोप उपलब्ध नहुँदा सहज रुपमा खोप अभियान अघि बढ्न सकेको छैन । भारतमा संक्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिएपनि भारत सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ । तर संक्रमित अत्यधिक देखिएका दिल्ली, मुम्बई समेतका शहरमा राज्य सरकारले लकडाउन, प्रतिबन्ध, कर्फ्यू लगाएका छन् । हाल, कोभिडको ठूलै संकट सामना गरिरहेको भारतमा हाल अक्सिजनको आपूर्ति समेतका अत्यावश्यक औषधि र अन्य स्वास्थ्य सेवाको चरम अभाव भएको छ । यसैबीच, विश्व स्वास्थ्य संगठनले विश्वभर कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ लाख ८३ हजार पुगेको जानकारी दिइएको छ । हालसम्म सर्वाधिक प्रभावित संयुक्तराज्य अमेरिकामा पाँच लाख ९९ हजार तथा दोस्रो स्थानमा रहेको ब्राजिलमा चार लाख ३४ हजारको मृत्यु भएको छ । रासस / सिन्ह्वा

Translate »