निषेधाज्ञाका कारण समस्यामा रियालिटी शो

निषेधाज्ञाको असर नेपाली टेलिभिजनबाट प्रशारण भैरहेका रियालिटी शोहरुमा समेत देखिएको छ । निषेधाज्ञा लम्बिदै जाँदा कुनै रियालिटी शोको छायांकन प्रभावित बनेको छ भने कुनैको प्रशारण अनिश्चितकालका लागि स्थगित भएको छ ।

गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ निषेधाज्ञाको समयमा पनि शनिबारसम्म निरन्तर प्रशारण भयो । ब्याटल राउण्डका भागहरु निषेधाज्ञाअघि छायांकन भएकाले निषेधाज्ञाको तीन सातासम्म शो प्रशारणमा समस्या भएन ।

शोको ब्याटल राउण्ड शनिबारबाट सकिएको छ । शो अब नकआउट राउण्डमा प्रवेश गर्नेछ । तर, निषेधाज्ञाका कारण नकआउट राउण्डका भागहरु छायांकनमा समस्या भएको छ । सुरक्षाका सम्पूर्ण सावधानी अपनाउँदै दर्शकविना नकआउट राउण्डका केही भाग छायांकन भएपनि पुरा भने भएको छैन । जसकाकारण यस साताको शुक्रबार र शनिबार शोको नयाँ भाग प्रशारण नगर्ने सोचाइमा यसको आयोजक पुगेको छ ।

‘राउण्ड अनुसार छायांकन गर्दै आएका हौं । ब्याटल राउण्डको पहिल्यै छायांकन गरेको हुनाले निषेधाज्ञामा अहिलेसम्म समस्या भएन, दि भ्याइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले भने ‘नकआउट राउण्डको केही भाग छायांकन त गरेका छौं, तर पुरा भएको छैन । अहिले माहोल पनि राम्रो छैन । त्यसैले यस साताका लागि शोको नयाँ भाग प्रशारण रोक्ने निर्णय गरेका छौं । त्यसपछि अवस्था सुधार भयो भने बाँकी छायांकन गरेर अर्को सातादेखि प्रशारणमा जाने सोच बनाएका छौं ।’

यस साता अवस्था हेरेपछि टिमका सदस्यको पीसीआर परीक्षण गर्ने, त्यसपछि सुरक्षा सावधानी अपनाउँदै दर्शकविना छायांकन गर्ने सोच बनाइएको लक्ष्मणले बताए । यस साता भने पुराना भागका ‘वेष्ट क्लिप’हरु प्रशारण गर्ने कुरा भइरहेको उनले बताए । ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ १८ भाग प्रशारण भईसकेको छ । हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजे शो प्रशारण हुँदै आएको यो शोले दर्शकको उल्लेख्य साथ पाएको छ ।

अर्को चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ अनिश्चित कालका लागि स्थगित भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण सिजन २ को नयाँ भागहरु छायांकन गर्न नसकिएपछि प्रशारण स्थगित गरिएको हो ।

‘कमेडी च्याम्पियन सिजन २’ कान्तिपुर टेलिभिजनमा शुक्रबार र शनिबार साँझ ९ः१० बजेबाठ प्रशारण हुँदै आएको थियो । अघिल्लो शनिबारसम्म यो रियालिटी शो प्रशारण भएको थियो । ‘कमेडी च्याम्पियन सिजन–२’ १६ भाग प्रशारण भइसकेको छ ।

‘दोहोरी टेलिभिजन रियालिटी शो’ ‘दोहोरी च्याम्पियन’ निषेधाज्ञामा पनि प्रशारण भईरहेको छ । शो नेपाल टेलिभिजनमा हरेक शनिबार बेलुका ८ः५० बजे प्रशारण हुँदै आएको छ । हिजो शनिबारसम्म शोको १० भाग प्रशारण भईसकेको छ । ‘दोहोरी च्याम्पियन’का कार्यक्रम संचालक गायक बद्री पंगेनी आगामी शनिबारसम्मको भाग तयार रहेको बताउँछन् । ‘आगामी शनिबारसम्म नयाँ भाग प्रशारण हुन्छ’ उनले भने, ‘त्यसपछि के गर्ने सल्लाह हुँदैछं ।’(अनलाइनखबर)

Translate »