महामारीमा उपभोग्य वस्तुको मूल्य वृद्धि

काठमाडौं । कोरोना महामारीका बीच दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । राजनीतिक अस्थिरता र निषेधाज्ञाको मौका छोप्दै उद्योगी, ठूला व्यापारी, र बिचौलियाहरूले चामल, तेल, दाल, गेडागुडी, चिनी र अण्डालगायत खाद्य वस्तुको मूल्य वृद्धि गरेका हुन् ।

निषेधाज्ञाका कारण महामारीसँग लड्दै गरेका उपभोक्ताहरूको आम्दानीसमेत घटेको अवस्थामा अनेक बहानामा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउने काम ठूला व्यापारीहरूबाट भइरहेको छ । खुद्रा व्यापार संघले दिएको जानकारीअनुसार निषेधाज्ञा शुरू हुनुभन्दा अघि प्रतिकिलो १ सय १० रुपैयाँ मूल्य रहेको मसुरोको दालको मूल्य यति बेला प्रतिकिलो १ सय २२ रुपैयाँ पुगेको छ ।

मासको दालमा प्रतिकिलो १० रुपैयाँले वृद्धि हुँदै १ सय ६५ बाट १ सय ७५ रुपैयाँ पुगेको छ । १ सय १० रुपैयाँ किलो रहेको चनाको मूल्यमा २५ रुपैयाँले वृद्धि हुँदै प्रतिकिलो १ सय ३५ रुपैयाँ पुगेको छ । त्यसैगरी, हरेक ब्रान्डको चामलमा प्रतिबोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म मूल्य बढाइएको संघले बताएको छ । यतिबेला मूल्य बढाउनुपर्ने त्यस्तो खास कारण केही नभए पनि केही सीमित व्यापारी र बिचौलियाहरूले राजनीतिक तरलता र निषेधाज्ञाको बहानामा मूल्य बढाएको हुनसक्ने संघका निवर्तमान अध्यक्ष पवित्रमान वज्राचार्यले बताए ।

उनका अनुसार खाद्य वस्तुको व्यापारमा कालो बजारी मौलाएको छ । ‘यो समस्या न सरकारलाई हेर्ने फुर्सद छ न त नियामक निकायलाई यससम्बन्धी कुनै चासो छ,’ उनले आर्थिक अभियान दैनिकसँग भने । यही मौकामा थोक व्यापारीहरूले खुद्रा व्यापारीलाई सही मूल्यको बीलबीजक नदिने समस्या पनि उत्तिकै बढेको उनको भनाइ छ ।

शनिवार उनी आपैmले थोक व्यापारीबाट प्रतिकिलो ८९ रुपैयाँमा किनेको चिनीमा ७७ रुपैयाँको मात्र बिल पाए । ‘मैले किनेको मूल्यमा १२ रुपैयाँ कमको बिल पाएको छु अहिले बजारमा चिनीको खुद्रा मूल्य ९० रुपैयाँ प्रतिकिलो छ । यस्तो अवस्थामा मैले त्यो चिनी कसरी बेच्ने ?,’ उनले गुनासो गरे ।

खुद्रा व्यापारीले सही बिलबीजक नपाउने समस्या पुरानै भएकाले यसको समाधानका लागि वाणिज्य विभाग र आन्तरिक राजस्व विभाग दुवैको संयुक्त टोली बनाएर अनुगमन तीव्र पार्नुपर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेल बताउँछन् ।

वाणिज्य विभाग एक्लैले मात्र सबैतिर हेर्न नसक्ने भएकाले स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालय सबैले आआप्mनो ठाउँबाट अनावश्यक मूल्य वृद्धि रोक्न भूमिका खेल्नुपर्ने उनको भनाइ छ । वाणिज्यले हरेक दिन बिहान ७ देखि ९ बजेको बीचमा दुईओटा टीम बनाएर अनुगमन गरिरहेको र गल्ती भएको भेटिएमा कारबाहीसमेत गरिएको उनले बताए ।

दाल, गेडागुडी र चामलको मात्र होइन यही मौकामा व्यापारीहरूले अण्डा र खाने तेलको मूल्य पनि बढाएका छन् ।

निषेधाज्ञा अघिसम्म प्रतिक्यारेट ३ सय ५० रुपैयाँमा विक्री भइरहेको कुखुराको अण्डा अहिले ४ सय रुपैयाँसम्ममा विक्री भइरहेको छ । बजारमा अण्डाको खपत बढेकाले मूल्य बढेको बताइएको छ । त्यसैगरी, करीब डेढ महीनाको अन्तरालमा खाने तेलको मूल्य अस्वाभाविक रूपमा बढेको छ । यसअघि प्रतिलिटर १ सय ४५ रुपैयाँ मूल्य रहेको भटमासको तेलको मूल्य यति बेला लिटरमै १ सय २० रुपैयाँले बढेर प्रतिलिटर २ सय ६५ रुपैयाँ पुगिसकेको छ । सनफ्लावर तेलको मूल्यमा पनि १ सय रुपैयाँले वृद्धि हुँदै ४ सय रुपैयाँ लिटर पुगेको छ । नेपाल चामल, तेल र दाल उद्योग संघका अनुसार अन्तरराष्ट्रिय बजारमा तोरी, धान र गेडागुडीलगायत कच्चा पदार्थको मूल्य आकाशिएपछि नेपालमा पनि तेल, चामल र दालको मूल्य बढाइएको बताएको छ ।

संघका अनुसार यस अघि अन्तरराष्ट्रिय बजारमा प्रतिटन ५ सय २० डलर रहेको तोरीको मूल्य अहिले ३ सय डलरले बढेर ८ सय २० डलर पुगेको छ । त्यसैगरी अन्तरराष्ट्रिय बजारमा सोना मन्सुली धानको मूल्य प्रतिक्वीन्टल ३ सय ५० रुपैयाँले बढेर ३ हजार ५० रुपैयाँ कायम भएको छ भने जीरा मसिनो धानको मूल्य २ सय ५० रुपैयाँले बढेर ३३ सय रुपैयाँ प्रतिक्वीन्टल पुगेको छ । अहिले खाद्य वस्तुको मूल्य बढ्नुमा अन्तरराष्ट्रिय बजारको मूल्य वृद्धि नै मुख्य कारण भएको संघका अध्यक्ष सुबोधकुमार गुप्ताले जानकारी दिए । महामारीको समयमा कालोबजारीलाई प्रोत्साहन दिने वा उपभोक्तालाई मारमा पार्ने कुनै नियत नभएको उनकोभनाइ छ ।(आर्थिक अभियान)

Translate »