नेपाललाई आपतकालिन सहयोगको आवश्यकता : डब्लूएचओ

जेठ १,जेनेभा ।
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) का महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयससले पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भइरहेकाले नेपाललाई आपतकालिन सहयोगको आवश्यकता रहेको बताएका छन् । शुक्रवार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा उनले पछिल्लो समय भारतका साथै नेपाल, श्रीलंका, भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टलगायतका मुलुकमा पनि कोरोना संक्रमण तीव्र बनेपछि समस्या सृजना भएको बताए । उनले यी मुलुकमा पछिल्लो समय संक्रमण बढेको र अस्पताल भर्ना हुनेहरुको संख्या पनि बढेको बताएका छन् । न्यून आय र मध्यम आय भएका मुलुकहरुमा अहिले पनि खोप आपूर्ति सहज नभएको उनको भनाइ छ । अहिलेसम्म न्यून आय भएका मुलुकमा शून्य ३ प्रतिशत मात्रै खोप आपूर्ति भएको उनले बताए । उनले पछिल्लो समय डब्लूएचओले भारतमा अक्सिजन कन्सनट्रेटर, घुम्ती अस्थायी अस्पताल निर्माणका लागि टेन्टलगायतका स्वास्थ्य सामग्री पठाएको पनि जानकारी दिएका छन् । कोरोना भाइरसले अहिलेसम्म ३३ लाखभन्दा बढीको मृत्यु भइसकेको बताउँदै उनले पहिलोभन्दा दोस्रो लहर झन घातक रहेको उल्लेख गरेका छन् । संक्रमण बढ्दै जाँदा खोप आपूर्ति र व्यवस्थापन अहिलेको मुख्य चुनौतीका रुपमा रहेको पनि उनले बताए । महानिर्देशक गेहब्रेयससले केही धनी मुलुकले खोपको धेरै मात्रा किनेको र न्यून जोखिममा रहेका समूहलाई पनि खोप लगाइरहेको खुलासा गरेका छन्। केही मुलुकले बालबालिका र किशोरकिशोरीलाई खोप लगाइरहेको उल्लेख गर्दै उनले यसलाई पुनर्विचार गरी त्यो खोप विश्वव्यापी खोप परियोजना ‘कोभ्याक्स’ लाई दिन पनि भनेका छन् । (एजेन्सी)

Translate »