पोषिला आहारा लिएर सङ्क्रमितका घरघरमा पुग्दै जनप्रतिनिधि

सागर परियार/ जुम्ला । दोस्रो लहरको कोरोना भाइरसबाट संक्रमित भएकाहरूलाई जुम्लाको चन्दननाथ नगरपालिकाले घरघरमै पुगेर पोषिला आहारा र स्वास्थ्य सामाग्री वितरण गर्ने भएको छ । बिहीबार नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले सङ्क्रमितका घरघरमा पोषिला आहारा सँगै स्वास्थ्य सामाग्री पुराउने निर्णय गरेसँगै जनप्रतिनिधि कर्मचारी गाउँ गाउँ पुग्न थालेका छन् । चन्दननाथ नगरपालिकामा हालसम्म ५६ जना कोरोना संक्रमित छन् । सबै संक्रमित होम आइसोलेसनमै बसिरहेका छन् । नगरपालिकाले घरघरमा पुगेर होम आइसोलेसनमा बस्दा अपनाउनु पर्ने उपाय सिकाउनुका साथै स्वास्थ्य सामाग्री र पोषिला आहारा दिने नमुना काम जिल्लाको पहिलो स्थानीय तहका रुपमा चन्दननाथले गरेको हो । सङ्क्रमितहरूलाई सङ्क्रमणमुक्त नभए सम्म घरमै पुगेर चना २ केजी, अण्डा १ क्यारेट, च्यावनप्रास १ बट्टा, भिटामिन सी र भिटामिन बि एकरएक बट्टा १५ दिनको अन्तरमा साथै साबुन २ चक्की, स्यानिटाइजर १ बट्टा र मास्क १ प्याकेट उपलब्ध गराइने चन्दननाथका विपद् व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले बताए।


कोरोनालाई जित्ने रोग प्रतिरोधात्मक क्षमता बढाउन सङ्क्रमितलाई पोषिला खाने कुरा भिटामिन सँग स्वास्थ्य सामाग्री दिने निर्णय भएको चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले बताए । कोभिड एम्बुलेन्सका लागि भ्यान भाडामा लिने, आवश्यकता अनुसार संक्रमित ओसार्न एम्बुलेन्स प्रशासनलाई दिइने, पोषिला खानेकुरा र स्वास्थ्य सामाग्री सङ्क्रमितका घरमा पुर्‍याउने र गाउँ गाउँमा गएर साबुन पानीले हात धुन, विवाह भोज नगर्न र मास्क प्रयोग गर्न दुरी कायम गर्ने अत्यावश्यक काम बाहेक बाहिर ननिस्कने लगायतका विषयमा सचेतना फैलाउन स्वयम जनप्रतिनिधि खटिने निर्णय भएको मेयर सेजुवालले जानकारी दिए। जुम्लाका २ सय बढी संक्रमित मध्ये ९० प्रतिशत संक्रमित होम आइसोलेसनमा बसेका छन् । उनीहरूको मनोबल उच्च बनाउन, संक्रमण फैलिन नदिन सबै स्थानीय तहले घरघरमा पोषिला खानेकुरा पुराउने, होम आइसोलेसनमा बस्दा अपनाउनु पर्ने उपाय, खानपानका बारेमा सिकाउने कुरामा जुम्ला अन्य सातै तहले जोड दिन आवश्यक देखिन्छ ।

Translate »