किसानलाई मिनिटेलर प्रदान

दीपक शर्मा / सल्यान । कृषिलाई व्यावसायिक र कृषि पेसातर्फ उन्मुख गराउन किसानलाई सल्यानको कालीमाटी गाउँपालिकाले मिनिटेलर प्रदान गरेको छ । कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गराउने उद्देश्यले गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मिनिटेलर प्रदान गरेको हो । बसन्ते मकै पकेट क्षेत्र कार्यक्रम अन्तर्गत गाउँपालिकाका वडा न २ , ३ र ४ न वडाका ५ कृषि समूहलाई सात वटा मिनी टेलर प्रदान गरेको गाउँपालिका अध्यक्ष दान बहादुर खत्रीले बताए । किसानको बढ्दो आवश्यकता र मागलाई सम्बोधन गर्दै किसान लक्षित सामाग्री वितरण गरिएको उनको भनाई छ । बर्खेभन्दा बसन्ते मकैको बढी उत्पादन हुने र खाली जग्गाको सदुपयोग पनि हुने भएकाले किसानहरूको आकर्षण बसन्ते मकै खेतीतर्फ बढेको कृषि शाखा प्रमुख वृद्धि बहादुर वलीले बताए । गत वर्ष दुई सय रोपनीमा बसन्ते मकै खेती भएकोमा यो वर्ष भने ३ सय ५० रोपनीमा मकै लगाइएको उनको भनाई छ । यो वर्ष २ सय रोपनीमा मूल बिउ र १ सय ५० रोपनीमा उन्नत जातको बिउ रोपिएको उनले बताए । गत वर्ष एक सय क्विन्टल मूल बिउ उत्पादन भएकोमा ५० क्विन्टल निर्यात भएको बाँकी ५० क्विन्टल किसानहरूले नै खपत गरेको वलीको भनाई छ ।

Translate »