स्वास्थ्य कार्यालयका प्रमुखको सरुवा भएसँगै लाखौँको भेन्टिलेटर र आईसीयू प्रयोग विहीन

वैशाख ३१, दैलेख । गत वर्ष कोरोना संक्रमणको दर तीव्र भएका बेला दैलेखमा आईसीयू र भेन्टिलेटर जडान भयो । तीन ओटा आईसीयू र दुईओटा भेन्टिलेटरका लागि लाखौँ खर्च गरियो ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा निरञ्जन पन्तको सरुवा भएसँगै अहिले स्वास्थ्य सेवा कार्यालयमा भेन्टिलेटर र आईसीयू कक्षसमेत सञ्चालन हुन सकेको छैन । लाखौँ खर्चेर जडान भएका उपकरण त्यत्तिकै थन्किएका छन् ।

कोरोना संक्रमणको धेरै जोखिम भएका बिरामीलाई आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्न सके केही हदसम्म बाँच्ने सम्भावना हुन्छ, तर अहिले श्वासप्रश्वासको समस्या भएका बिरामीलाई सामान्य अक्सिजनको भरमा उपचार गरिँदै आएको छ ।

गम्भीर प्रकृतिका बिरामी प्रभावकारी उपचार नपाएर दिनहुँ मृत्युको मुखमा पुगेका छन् । मंगलवार मात्रै अक्सिजन अभावमा एक महिलाको ज्यान गयो ।दैलेखमा कोरोना संक्रमणबाट हालसम्म १६ जनाको मृत्यु भइसकेको छ । अधिकांश बिरामी श्वासप्रश्वासको समस्या भएर गम्भीर अवस्थामा आउने गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले बताए ।

‘हामीसँग भएका केही मात्र अक्सिजनबाट उपचार गर्दै आएका छौँ, तर बचाउन निकै समस्या भएको छ । भेन्टिलेटर भए पनि चलाउने दक्ष जनशक्ति नभएकाले त्यसै थन्किएको छ । जनशक्ति माग गरेका छौँ, तर व्यवस्थापन हुनसकेको छैन’, उनले भने ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले दुई साताअघि नै जनशक्ति लागि जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकबाट बारम्बार निर्णय गरेर माग गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको जानकारी दिए ।

प्रतिनिधि सभाका तीन ओटै सांसद रवीन्द्र शर्मा, राजबहादुर बुढा र पार्वती बिशुंकेले तत्काल स्वास्थ्य मन्त्रालयमा यसबारे कुरा गर्ने र दक्ष जनशक्ति जिल्ला पठाउने बताए । (रासस)

Translate »