दैलेखमा कोरोनाबाट दुईजनाको मृत्यु

हिक्मतबहादुर नेपाली/ दैलेख ।
दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत् दुईजना कोरोनाका बिरामीको मृत्यु भएको छ । जिल्ला सदरमुकामस्थित अस्पतालको आइसोलेसनमा उपचाररत ठाँटीकाँध गाउँपालिकाका दुईजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बुधबार साँझ जिल्लाको पश्चिममा पर्ने ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीका ३२ वर्षीया युवकको मृत्यु भएको हो । युवकलाई अस्पताल पुर्‍याएको एक घण्टा नबित्दै मृत्यु भएको हो । उनलाई दैलेख अस्पतालको आइसोलेसनमा ल्याइ पुर्‍याए लगत्तै उपचार थालिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको आइसोलेसन अस्पतालमा कोरोनाका बिरामीहरुको उपचारमा खटिएकी डा। सुशिला कटुवालले जानकारी दिइन् ।

स्वास्थ्यमा समस्या देखिएपछि परिवारको सहयोगमा उनलाई बुधबार बिहान ठाँटीकाँध गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा पुर्‍याइएको थियो । त्यहाँ गरिएको एन्टिजेन परीक्षणमा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य केन्द्रले रिफर गरेपछि दैलेख अस्पतालको आइसोलेसनमा ल्याइ पुर्‍याएको मृतकका आफन्तले बताए ।

यस्तै बुधबार राती नै ठाँटीकाँध गाउँपालिका–३ विशालाका ५२ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । कोरोना संक्रमित भएर श्वासप्रश्वासमा समस्या भएर चारदिनदेखि आइसोलेसन उपचाररत ती महिलाको मृत्यु भएको हो ।

योसँगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । यस्तै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार १ सय ५५ पुगेको छ । मंगलवार थप ८५ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए ।

निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीका अनुसार हालसम्म १ हजार ६ सय १६ जना कोरोनाका बिरामी निको भइसकेका छन् । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय २५ जना छ । ती मध्ये दैलेख अस्पतालको आइसोलेसनमा ३७ जना कोरोनाका बिरामी उपचाररत छन् भने ४ सय ८८ जना कोरोनाका बिरामी घरमै छन् । (अन्नपूर्ण पोस्ट )

 

Translate »