अछाममा ५७ जना कोरोना संक्रमित थपिँदा २९ जना कोरोना मुक्त

टेकराज भण्डारी / बैशाख ३०,अछाम ।
अछाममा बिहीवार थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ४८ जना र एन्टिजेन परीक्षणमा ९ जना गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए । कमलबजार पिसीआर प्रयोगशालामा १ सय ४४ जनाको नमुना परीक्षण गरिएकामा ४८ जनामा संक्रमण देखिएको कमलबजार पिसीआर प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिए । साँफेबगर नगरपालिका र कमलबजार पिसिआर प्रयोगशाला मार्फत १ सय ४४ जनाको स्वाब सङ्कलन गरी गरिएको परीक्षणमा २९ जना पुरुष र १९ जना महिलामा संक्रमण देखिएको हो ।

आज थपिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै जिल्लाको साँफेबगर नगरपालिकाका रहेका छन् । नगरपालिकाका वडा नम्बर १, ३, ४, ५ र ११ का १० जना महिला र १७ जना पुरुष गरी २७ जनामा संक्रमण देखिएको छ । त्यसैगरि कमलबजार नगरपालिका वडा नम्बर १ ,२ ,५ ,७, ८,९ र १० का ९ जना महिला र ९ जना पुरुष गरी १८ जना , त्यस्तै पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का १ जना पुरुष र मङ्गलसेन नगरपालिका वडा नम्बर ५ का १ जना पुरुष गरी ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । कमलबजार प्रयोगशालामा पछिल्लो २४ घण्टामा अहिले सम्मकै सबै भन्दा बढी १ सय ४४ जनाको स्वाब परीक्षण भएको प्रयोगशालाले जनाएको छ । कमलबजार पिसिआर प्रयोगशालामा ५ हजार ६ सय २५ जनाको कोरोना परीक्षण गर्दा १ हजार २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै अछाम जिल्लामा हालसम्म २५ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । दोस्रो लहरमा मात्रै ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल जिल्लामा ८ सय १ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार थप २९ जना कोरोना जितेर घर फर्केका जिल्ला स्वास्थ्य कार्यालय अछामका कोरोना सम्पर्क व्यक्ति मीन बहादुर कुँवरले जानकारी दिए । दोस्रो लहरको कोरोना भाइरसबाट संक्रमितमध्ये हालसम्म १ सय १० जनाले कोरोना जितिसकेका छन् । यस्तै अछाममा पहिलो लहरमा ५ जना र दोस्रो लहरमा ९ जना गरी हालसम्म १४ जनाको कोरोनाका कारण ज्यान समेत गइसकेको छ ।

Translate »