राष्ट्रिय उपभोक्ता मञ्चद्वारा चिनीको मूल्य वृद्धि गर्नेलाई कारबाही गर्न माग

वैशाख २९, काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले  चिनीको  अस्वभाविक मूल्य वृद्धि गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

मञ्चले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै मुलुकमा कोभिडको दोस्रो लहर भयावह बनिरहेका बेला दैनिक उपभोग्य वस्तु चिनीको मूल्य अत्याधिक बढेको भन्दै कालोबजारी गर्नेलाई कारबाही गर्न माग गरेको हो ।

मञ्चले अहिले देशको राजधानीमै प्रतिकेजी ११० रुपैयाँसम्ममा व्यापारीहरुले चिनी विक्री गरिरहेको बताएको छ ।

यस वर्षको कार्तिक महीनासम्ममा चिनीको खुद्रा मूल्य बढेर प्रतिकेजी  ७६ देखि ८५ रुपैयाँ रहेको तर गत महीनादेखि चिनीको मूल्यमा अस्वाभाविक रुपमा वृद्धि भएको अनुगमनबाट देखिएको मञ्चले भनेको छ । हाल चिनी प्रतिकेजी  ९० देखि ११० रुपैयाँ सम्ममा उपभोक्ताले खरीद गरिरहेका छन् ।

अर्थ मन्त्रालय तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागलाई समेत चिनीको अस्वभाविक मूल्य वृद्धि बारे जानकारी गराउँदै मञ्चले आफूले उठाएको  तथ्यहरुमा सूक्ष्मरुपमा छानविन गरी कृत्रिम रुपमा बढाइएको मूल्य तत्काल नियन्त्रण गर्न तथा राजस्व छल्ने उद्योगी तथा व्यवसायीहरु माथि कडा कारवाही गर्न ध्यानाकर्षण गराएको छ ।

कोभिड- १९ को महामारी र लकडाउनको दोहोरो मारमा परेका उपभोक्तालाई मूल्य र आपूर्तिमा राहत दिलाउनको लागि तत्काल बजारमा हस्तक्षेप गर्न तथा आपूर्ति व्यवस्थापन सहज गराई उपभोक्ता हित संरक्षण गर्न गराउन पनि मञ्चले भनेको छ ।(आर्थिक अभियान)

Translate »