नेपालमा ८८५० जना कोरोना भाइरस संक्रमित थपिए

थप ८८ जनाको मृत्यु

बैशाख २६,काठमाडौँ ।
देशभर पछिल्लो २४ घण्टामा थप ८ हजार ८ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १८ हजार ७ सय ८७ वटा आरटी पीसीआर परीक्षण गर्दा ८ हजार ७ सय ७७ जना र ५ सय ६ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या ३ लाख ९४ हजार ७ सय ४० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । आज थप ४ हजार २२ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३ लाख २ हजार ७ सय ८७ पुगेको मन्त्रालयका प्रवक्ता डा। गौतमले जानकारी दिए । मन्त्रालयका अनुसार आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल ८८ हजार १ सय ६० जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६ हजार ७ सय ३० जना संस्थागत आइसोलेसनमा र ८१ हजार ४ सय ३० जना होम आइसोलेसनमा रहेको प्रवक्ता डा.गौतमले जानकारी दिए । यसै गरी, कोरोना भाइरसको सङ्क्रमणबाट आज थप ८८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ३ हजार ७ सय २० जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । (नेपाल टेलिभिजन)

Translate »