कोभिडका बिरामीलाई बागचौर नगरपालिकाको निःशुल्क एम्बुलेन्स सेवा

बैशाख २६,सल्यान ।
कोभिड–१९ का बिरामीलाई जिल्लाको बागचौर नगरपालिकाले एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । नगरभित्रका कोरोनाको लक्षण देखिएका, कोरोना पहिचान भएका र आफै सवारी साधनको व्यवस्था गर्न नसक्ने बिरामीहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । कोरोना सङ्क्रमितलाई सेवा प्रदान गर्न नगरपालिकाको एक गाडी, एक एम्बुलेन्स र एक निजी गाडी तयारी अवस्थामा राखिएको नगरपालिकाले जनाएको छ । कोरोना सङ्क्रमित बिरामीहरूको लागि सम्बन्धित वडाको समन्वयमा खलङ्गा अस्पतालसम्म जानको लागि तीन वटा गाडी तयारी अवस्थामा राखिएको उपमेयर कल्पना पुनले बताए । उनले भने, ‘कोरोनाको लक्षण देखिएका, कोरोना पहिचान भएका र आफैले सवारी साधनको व्यवस्था गर्न नसक्ने बिरामीहरूको लागि सम्बन्धित वडाको समन्वयमा सल्यान अस्पतालसम्म जानको लागि निःशुल्क सवारी साधनको व्यवस्था गरेका छौँ ।’ यस्तै नगरपालिकाले कोरोनाबाट बिरामी भई मृत्यु भएमा खलङ्गाबाट निजको घरसम्म शवबहानको लागि नगरपालिकाले निःशुल्क व्यवस्था गरिने उपमेयर पुनको भनाई छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि नगरपालिकाले आफ्नै नयाँ भवनमा २५ बेडको अक्सिजन सहितको आइसोलेसन निमार्ण गर्दै आइरहेको छ । (रेडियो नेपाल)
Translate »