प्रदेश आयुर्वेद औषधालय सुर्खेतमा प्राकृतिक आईसोलेशन निर्माण

कोरोना रोकथाम, नियन्त्रण एवं उपचारमा आयुर्वेद


स्काई न्यूज /बैशाख २४, सुर्खेत ।
दोस्रो चरणको कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश आयुर्वेद औषधालय सुर्खेतले कोभिड आइसोलेशन कक्ष निर्माण गरेको छ । औषधालयले कोरोनाको नयाँ भेरियन्ट तीव्ररुपमा फैलिन थालेपछि संक्रमितलाई उपचारमा सहज होस भन्ने उद्देश्यले तत्कालका लागि २५ शैयाकोे कोभिड आईसोलेशन कक्ष निर्माण गरेको हो । प्रदेशमै पहिलो पटक प्राकृतिक वातावरण सहितको आईसोशन कक्षमा विहान बेलुका गायत्री मन्त्र, योग, ध्यान, एवं जीवन जीउने कलाका बारेमा जानकारी गराईने औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले जानकारी दिए । उनले हाल २५ शैयाको कोभिड आईसोलेशन कक्षलाई बढाएर ५० शैयासम्म पु¥याउने योजना रहेको बताए । उनका अनुसार कोभिड कक्षमा प्राकृतिक वातावरण मिलाईएपनि अक्सिजन सहितको आईसोलेशनका लागि पहल भईरहेको छ ।

‘हामी अक्सिजन सहितको आइसोलेशन कक्ष सञ्चालनका लागि थप बटेज बढाउन प्रदेश सरकारसँग समन्वय गरिरहेका छौं,’ प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले भने, ‘प्राकृतिक वातावरणसहितको आईसोलेशन निर्माण गरिएपनि नयाँ भेरियन्टको कोरोनाका कारणले रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिसँगै आवश्यक परेमा अक्सिजनको समेत व्यवस्था गर्न तर्फ हामी जुटेका छौं ।’ उनले विरामीको रेखदेख गर्नका लागि कोरोना आइसोलेशन कक्षमा चौविसै घण्टा डाक्टरसहित स्वास्थ्यकर्मीको टीमलाई परिचालन गर्ने व्यवस्था मिलाईएको जनाए । उनका अनुसार चलन चल्तीको भन्दा पृथक आइसोलेशनमा कोरोना संक्रमितलाई प्राकृतिक तवरबाटै उपचार गरिने छ । उनले गत वर्षदेखि कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा आयुर्वेदिक पद्दती मार्फत प्रदेशभरीका क्वारेन्टाईन, आईसोलेशन, होम आईसोलेशन र भ्यान्टिलेटरमा रहेका विरामीलाई समेत उपचार गरिएको जनाए । अहिले दोस्रो चरणको कोरोना रोकथाम तथा नियन्त्रणमा समेत रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि झण्डै १८ हजार नागरिकलाई निःशुल्क वितरण गरिएको उनको दावी छ । यता औषधालयका कविराज निरीक्षक श्रीराम आचार्यले औषधालयबाट दैनिक एक सयको हाराहारीमा सेवाग्राहीलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण भईरहेको जानकारी दिए ।

Translate »