भेरी अस्पतालमा ४१ स्वास्थ्यकर्मी थपिए

रामलीला मैदानमा अक्सिजनसहितको ५० बेडको कोभिड आइसोलेसन निर्माण

बैशाख २२,नेपालगन्ज ।
भेरी अस्पतालमा ४१ स्वास्थ्यकर्मी थप गरिएको छ । स्वास्थ्य सहायक, स्टाफ नर्स, पारामेडिक्स र नर्सिङ भर्ना गरिएको हो । संक्रमितले बेड नपाउने अवस्था आएपछि नेपालगन्ज उपमहानगरपालिकाले अस्थायी अस्पताल निर्माण गरेरसमेत उपचार थालेको छ । रामलीला मैदानमा अक्सिजन– सहितको ५० बेडको कोभिड आइसोलेसन निर्माण गरिएको छ । ‘बिरामीको अक्सिजन लेभल मेन्टेनका लागि आइसोलेसनमा राख्ने गर्छौं,’ उपप्रमुख उमा थापामगरले भनिन्, ‘सुरुमा अक्सिजन आइसोलेसनको मापदण्डका आधारमा सञ्चालन गरिए पनि अहिले गम्भीर प्रकृतिका कोभिड संक्रमित आउँदा समस्या थपिएको छ ।’ आइसोलेसनमा २५ बेड सञ्चालनमा छ ।

गत वर्ष नै यहाँको ह्वाइट हाउस होटलमा सञ्चालनमा ल्याइएको आइसोलेसनलाई यस पटक पनि निरन्तरता दिइएको छ । ‘होटल आइसोलेसन उपमहानगरभित्रका संक्रमितलाई राख्न बनाइएको हो,’ उपप्रमुख मगरले भनिन्, ‘अहिले ह्वाइट हाउसमा रहेका १ सय २० जनामध्ये उपमहानगरका १८ जना मात्रै छन् ।’ उपमहानगरले भेरी अस्पतालमा उपचाररत संक्रमित र अन्य बिरामीका कुरुवालाई खाना खुवाउने अञ्जनी माता रसोईलाई मासिक एक लाख रुपैयाँ सहयोग गर्न थालेको छ । कार्यपालिका बैठकले मासिक एक लाखको दरले तीन महिना सहयोग गर्ने निर्णय गरेको हो । ‘यो संकटमा गरिएको मानवीय सेवा हो,’ सुन्दर काण्ड मित्रमण्डलका सदस्य जितेन्द्र सिंहले भने, ‘जेनतेन मिलाइरहेका थियौं, त्यसैमा उपमहानगरको साथ पाएका छौं ।’ सोमबार उपमहानगर प्रमुख धवलशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले एउटा एम्बुलेन्ससमेत थप गर्ने निर्णय गरेको छ । ‘उपमहानगरमा संक्रमित बढी देखिएकाले यो निर्णय गरेका हौं,’ उपमहानगरका प्रवक्ता तथा वडा १ का अध्यक्ष प्रमोद रिजालले भने, ‘धेरै संक्रमित घरकै आइसोलेसनमा छन्, त्यसैले अर्को एम्बुलेन्स भयो भने संक्रमितलाई सजिलो हुन्छ ।’ उपमहानगरले भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा बाल मन्दिरमा तत्काल थप आइसोलेसन सञ्चालन गर्ने निर्णयसमेत गरेको प्रवक्ता रिजालले बताए । स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार जिल्लामा १० हजार ५ सय ८० जना संक्रमित छन् । ३ हजार ४ सय २३ जना होम आइसोलेसनमा छन् । उपमहानगरपालिकामा कोभिडबाट १९ महिला र २४ पुरुष गरी ४३ जनाको मृत्यु भइसकेको छ ।  (कान्तिपुर)

Translate »