अक्सिजनसहितको आइसोलेशन कक्ष निर्माणमा जुटे सुर्खेतका स्थानीय तह

भेरीगंगा, चौकुने र गुर्भाकोटमा अस्थाई कोरोना अस्पताल सञ्चालन

स्काई न्यूज / बैशाख २२, सुर्खेत ।
दोस्रो चरणको कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सुर्खेतका स्थानीय तहहरु अक्सिजनसहितको आइसोलेशन कक्ष निर्माणमा लागिपरेका छन् । जिल्लाका वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, चौकुने गाउँपालिका, गुर्भाकोट नगरपालिका र पञ्चपुरी नगरपालिकामा कोरोना संक्रमितको उपचारका लागि अक्सिजनसहितको आइसोलेशन कक्ष बनाइएको छ । यस्तै लेखबेशी नगरपालिका, सिम्ता गाउँपालिका, चिङ्गगाड गाउँपालिका र बराहताल गाउँपालिकाले समेत अक्सिजनसहितको आइसोलेशन कक्ष निर्माण प्रक्रिया अघि बढाएका छन् । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाले अक्सिजनसहितको आइसोलेसन कोरोना अस्पताल स्थापना गरेको जनाएको छ । मेहेलकुना अस्पताल र गुर्भाकोट नगरपालिकाको संयुक्त लगानीमा सीटी हल मेहेलकुनामा अस्थाई कोरोना अस्पताल स्थापना गरिएको हो ।

नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र बनेपछि नागरिकको उपचारमा सहजताका लागि अक्सिजनसहितको आइसोलेसन कोरोना अस्पताल निर्माण गरिएको नगरप्रमुख हस्तबहादुर पुनले बताए । उनले तत्कालका लागि २५ बेडको अक्सिजनसहितको आईसोलेशन अस्पताल निर्माण गरेपनि आवश्यक परे सीटी हलमै २० बेड थप्ने व्यवस्था मिलाईएको जनाए । उनका अनुसार अधिकतम् सेवा सुविधासहित कोरोना संक्रमितको व्यवस्थापन गर्न उप–प्रमुख, नगरपालिकाको स्वास्थ्य शाखा, मेहलकुना अस्पताललगायतको टीम परिचालन गरिएको छ । उनले कोरोना संक्रमितको व्यवस्थापनमा थप आर्थिक तथा प्राविधिक सहयोग आवश्यक परे जिल्ला स्वास्थ्य कार्यालय, सामाजिक विकास मन्त्रालय एवं प्रदेश सरकारसँग समन्वयका लागि पूर्व तयारी गरिएको जनाए । यता पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले समेत सुविधा सम्पन्न अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । चौकुने गाउँपालिका–६, स्थित जीवन ज्योति माध्यमिक विद्यालयमा पालिकाले सोमबारदेखि अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो । भारत कमाउन गएका नागरिक गाउँ फर्किन थालेसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अक्सिजनसहित आइसोलेसन कक्ष निर्माण गरिएको गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले बताए ।

उनले तत्कालका लागि १२ बेडको आइसोलेशन बनाईएपनि आवश्यक परेमा ५० बेडसम्मको बनाउन सकिने जानकारी दिए । उनका अनुसार १२ बेडको आइसोलेसन सेन्टरमा हाल ६ वटा अक्सिजन सिलिण्डर रहेका छन् । उनले थप अक्सिजन सिलिण्डर खरिदका लागि आवश्यक प्रक्रिया शुरु भईसकेको जानकारी दिए । ‘भारतबाट गाउँ फर्किने युवाहरुको संख्या बढ्दै गएकाले कोरोना संक्रमणको जोखिम समेत बढेको छ,’ उनले भने, ‘कोरोना संक्रमण फैलिन नदिन गाउँपालिकाले सचेतना अभियान सञ्चालन गर्नुका साथै शंकास्पद व्यक्तिमाथि निगरानी बढाएको छ ।’ उनले गाउँपालिकामा हाल ५ जना कोरोना संक्रमित उपचारत रहेको जनाए । स्थानीय तहले अस्थाई रुपमा निर्माण गरेका कोरोना अस्पतालका बिरामीको अवस्था असामान्य भएमा आईसीयू वा भेन्टिलेटरमा राख्नका लागि प्रदेश अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाएको बताएका छन् । मुख्तहः जिल्लाभरी कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उपचारका लागि स्वास्थ्यकर्मीको संख्या कम पर्दै गईरहेको छ । यता कर्णाली प्रदेश सरकारले तत्कालै करारमै भएपनि स्वास्थ्यकर्मीको अभावलाई पुरा गर्ने आवश्यक प्रक्रिया शुरु भईसकेको जनाएको छ ।

Translate »