बिहीवारदेखि अन्तरराष्ट्रिय उडानमा रोक

नेपाल–भारत उडान भने हप्तामा दुईओटा हुने

काठमाडौं (अस) । सरकारले वैशाख २३ गते बिहीवार मध्यरातिदेखि लागू हुनेगरी अन्तरराष्ट्रिय उडानमा रोक लगाएको छ । यद्यपि नेपाल–भारत (काठमाडाैं–दिल्ली) उडान भने हप्तामा दुईओटा हुनेछन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण उच्च हुँदै गएपछि त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले अन्तरराष्ट्रिय उडान पनि बन्द गर्ने निर्णय गरेको हो । यस निर्णयसँगै बिहीवार राति १२ बजेदेखि काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट काठमाडाैं–दिल्ली उडानबाहेक अन्य अन्तरराष्ट्रिय उडान बन्द हुनेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता तारानाथ अधिकारीले अर्काे व्यवस्था नहुँदासम्म अन्तरराष्ट्रिय उडानमा रोक जारी रहने बताए । ‘सबै अन्तरराष्ट्रिय उडान रोक्ने निर्णय बिहीवार रातिदेखि कार्यान्वयनमा आउनेछ,’ अधिकारीले भने, ‘तर, उपचार प्रयोजन तथा अप्ठ्यारो अवस्था आउन सक्ने सम्भावनालार्ई ध्यानमा राखेर काठमाडौं–दिल्ली उडान हप्तामा दुईओटा हुने व्यवस्था गरिएको छ ।’ आइतवारकै निर्णय अनुसार सरकारले आन्तरिक तर्फका पनि सबै उडान सोमवार रातिदेखि रोक लगाइसकेको छ ।

Translate »