बैंकिङ कारोबारमा समस्या भए राष्ट्र बैंकका उच्च अधिकारीलाई सम्पर्क गर्न सकिने

काठमाडौं । निषेधाज्ञा अवधिभर सर्वसाधारणलाई बैंकिङ कारोबारमा समस्या परे, जिज्ञासा भए वा सुझाव दिनुपरे सीधै नेपाल राष्ट्र बैंकका तीन उच्च अधिकारीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा काारोबार गर्ने ग्राहकको समस्या समाधान गर्न र सर्वसाधारणको जिज्ञासाको जवाफ दिन सम्पर्क व्यक्ति तोकिदिएको हो ।

बैंक तथा वित्तीय संस्थामा जान असहज अवस्थामा विप्रेषण, डिजिटल बैंकिङ कारोबार गर्दा हुने समस्या समाधानका लागि आइतवारदेखि यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले बताएको छ । साथै बैंकमा गएर प्रत्यक्ष सेवा लिने कार्य प्रभावित भएकाले घरमै बसेर कारोबार गर्ने ग्राहकको सेवा थप प्रभावकारी बनाउन पनि सो व्यवस्था गरिएको केन्द्रीय बैंकको भनाइ छ ।

केन्द्रीय बैंकले सार्वजनिक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक किरण पण्डित, विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक गुरुप्रसाद पौडेल र भुक्तानी प्रणाली विभागका निर्देशक निश्चल अधिकारीलाई सम्पर्क व्यक्ति तोकेको छ ।

सर्वसाधारणलाई बैंकमा रकम जम्मा गर्ने वा झिक्ने, ऋणको साँवा–ब्याज तिर्ने लगायत कारोबारसम्बन्धी सम्पूर्ण विषयमा सोधपुछ गर्नु परे राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक पण्डितलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । सर्वसाधारणलाई समस्या परेमा उनको मोबाइल नम्बर ९८५१०९७३४६ र ईमेल किरणपण्डित याटदिरेट एनआरबी डट ओआरजी डट कममा सम्पर्क गर्न सकिनेछ ।

विप्रेषण, विदेशी मुद्रा सटही, टीटी, प्रतीतपत्र (एलसी) तथा विदेशी विनिमय कारोबारसम्बन्धी विषयमा समस्या परे राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक गुरुप्रसाद पौडेल मोबाइल नम्बर ९८५१०२४८५३ वा पौडेलगुरु याटदिरेट एनआरबी डट ओआरजी डट कममा सम्पर्क गर्न सकिनेछ ।

यस्तै, मोबाइल तथा इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्डको प्रयोग, एटीएम सेवाको उपयोग तथा सबै प्रकारका डिजिटल कारोबार गर्दा समस्या परे वा बुझ्नुपरेमा भुक्तानी प्रणाली विभागका निर्देशक अधिकारीलाई उनको मोबाइल नम्बर ९८५१०१७६२३ र ईमेल ठेगाना निश्चल एडीके याटदिरेट एनआरबी डट ओआरजी डटकममा सम्पर्क गर्न सकिने राष्ट्र बैंकले बताएको छ । (आर्थिक अभियान)

Translate »