बन्दाबन्दीमा अचाक्ली मूल्यबृद्धिले उपभोक्ता मारमा

कर्णाली प्रदेश सरकार बेखर

पार्वती बयक /बैशाख १८, सुर्खेत
कोरोना भाइरसको दोस्रो चरणको संक्रमण दिनानुदिन बढ्ने क्रम जारी रहेको बेला कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाद्यान्नको मूल्य अकासिएको छ । सुर्खेतमा सरकारले कोभिड–१९ को संक्रमण रोक्न र फैलिन नदिन लकडाउन वा निषेधाज्ञा जारी गरेसँगै व्यापारीले आफुखुशी खाद्यान्नसहित अन्य दैनिक उपभोग सामग्रीमा मूल्य बृद्धि गरेका छन् । सुर्खेतसहित कर्णाली प्रदेशभर कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको बेला अत्यावश्यक खाद्य सामग्रीको मूल्यवृद्धि भएको हो । पसल सञ्चालकहरुले होलसेलमै मूल्य बढाएर दिने गरेकाले खुद्रामा मूल्यवृद्धि गरेर बेच्न बाध्य भएको बताउँछन् । वीरेन्द्रनगर बजारमा चामल, दाल, चना, मटर, तेललगायतका खाद्यवस्तुमा मूल्यवृद्धि भएको छ । व्यवसायीहरुले महँगो मूल्यमा खरिद गरेका कारण बिक्री गर्दा त्यस्ता वस्तुको मूल्यमा वृद्धि गर्नु परेको बताएका छन् । बन्दीपुर खाद्य स्टोरका सञ्चालक ईश्वर श्रेष्ठका अनुसार ७ दिन अगाडि एक काटुन खाने तेल २३ सय ८० रुपैयाँ पाईरहेकोमा अहिले बढेर २७ सय २५ रुपैयाँ पर्ने गरेको छ । त्यस्तै मुसुरोको दाल १ सय २० पर्ने गरेकोमा लकडाउनले १ सय ३५ रुपैयाँ पर्ने गरेको छ । खाने तेल २ हजार २ सय ५० मा किन्ने गरेका खुद्रा व्यापारीहरुले २ हजार ६ सयमा किन्ने गरेको बताउँछन् । सन् फ्लावर खानेतेलसमेत मूल्यवृद्धि गरेर होलसेलरहरुले खुद्रा व्यापारीहरुलाई २ हजार २ सय २५ मा दिने गरेता पनि अहिले २ हजार ५ सयमा दिने गरेका छन् । खुद्रा व्यापारीका अनुसार लकडाउन पछि होलसेलले दालमा प्रतिकेजी ७ देखि १०, चनामा प्रतिकेजी १०, चामलमा १० देखि १२ रुपैयाँ तथा सनफ्लावर तेल प्रतिकार्टुन १ सयदेखि १ सय ५० रुपैयाँ, चिनीमा प्रतिकेजी १० रुपैयाँका दरले मूल्यवृद्धि गरेका छन् । होलसेल विक्रेताले सबै वस्तुमा मूल्य बढाएका कारण खुद्रा विक्रेताले समेत बाध्य भएर मूल्य बढाउनु परेको व्यवसायीको भनाइ छ । ढुवानी तथा लोड अनलोड गर्ने मजदुरको अभाव देखाउँदै होलसेल विक्रेताले सबै वस्तुमा मूल्य बढाएको खुद्रा विक्रेताको भनाइ छ ।


मूल्यबृद्धिप्रति प्रदेश सरकार अनभिज्ञ
अस्वाभाविक रुपमा दैनिक उपभोग सामग्रीको मूल्यवृद्धिको विषयमा कर्णाली प्रदेश सरकार अनभिज्ञ हुँदा सर्वसाधारण विपन्न वर्ग महँगो खाद्यान्न किन्न बाध्य भएको राष्ट्रिय उपभोक्ता मञ्चको गुनासो छ । मञ्चका सदस्य कुमारी भुसालले लकडाउनसँगै खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको मुल्य बृद्धि भइरँहदा कर्णाली प्रदेश सरकार जनगुनासो प्रति बेखर रहेको बताईन् । उनले प्रदेश राजधानी सुर्खेतमै लकडाउनको फाईदा उठाउँदै दैनिक उपभोग्य बस्तुको मुल्यमा अत्याधिक बृद्धि हुँदा उपभोक्ता मारमा परेको जनाईन् । ‘प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कालोबजारी तथा महँगी नियन्त्रणका साथै आपूर्ति व्यवस्थापन लगायतको जिम्मेवारी रहेको छ,’ उनले भनिन, ‘प्रदेश सरकारले बजार अनुगमनका लागि निर्देशिका र संरचना तयार नगर्दा उद्योग, उपभोक्ता हित संरक्षण निर्देशनालय नामको बोर्ड टाँग्ने बाहेक उपभोक्ताको हितमा कुनै काम गर्न सकेको छैन् ।’ उनले कर्णालीका नागरिक दिनहुँ कालाबजारी, कार्टलिङ्ग र सिण्डीकेट जस्ता समस्याले पिरोलिदा मुखर्दशक उद्योग, उपभोक्ता हित संरक्षण निर्देशनालयको नाम समेत बद्ल्न सुझाव दिईन् । उनका अनुसार कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेयता खाद्यान्न, तरकारी, फलफूल लगायतका दैनिक उपभोग्य वस्तुको निरन्तर मृल्यबृद्धि भइरहेको छ । राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सदस्य राजु केसीले बजारमा हुने कालोबजारी तथा महंगी नियन्त्रणमा प्रदेश सरकारको खासै भूमिका नदेखिएको बताए । ‘प्रदेश सरकारसंग बजार अनुगमन गर्ने, कालोबजारी तथा महँगी नियन्त्रण गर्ने र अत्यावश्यक वस्तुको अभाव हुन नदिने लगायतको जिम्मेवारी छ,’ उनले भने, ‘तर, प्रदेश सरकारले जिम्मेवारी अनुसारको काम गर्न सकेको छैन ।’ उनले स्थानीय तह र प्रदेश सरकार भन्दा संघीय सरकारले नै प्रभावकारी रुपमा बजार अनुगमन गरिरहेको बताए । उनका अनुसार लकडाउन जारी भएपछि दुर्गम क्षेत्रमा दैनिक उपभोग्य वस्तुमा मूल्यबृद्धि भइरहेको गुनासो बढेको छ ।


सुर्खेत प्रशासनद्वारा बजार अनुगमन
दैनिक उपभोग्य वस्तुको मूल्यमा अचाक्ली मूल्यबृद्धि भईरहेको जनगुनासो आएपछि सुर्खेत प्रशासनले बजार अनुगमन तीव्र पारेको छ । जिल्लामा बुधवारदेखि जारी गरिएको निषेधाज्ञाको फाइदा उठाउँदै व्यापारीले आफुखुशी मूल्यबृद्धि गरेको गुनासो आएपछि प्रशासनले धमाधम बजार अनुगमन गरिरहेको हो । सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अगुवाईमा मेडिकल, खाद्यान्न पसल, तरकारी पसल, सव्जी मण्डीलगायत अन्य पसलहरुको अनुगमन गरिएको छ । निषेधाज्ञाको बेलामा बजारमा कालोबजारी हुने, कृत्रिम अभाव सिर्जना गरी उपभोक्ताहरुलाई मर्कामा पार्ने काम हुने भएकोले अनुगमन गरिएको सहायक प्रजिअ महतले बताए । उनले शनिवार विहान वीरेन्द्रनगरका १३ वटा दैनिक उपभोग्य बस्तुका पसल तथा तरकारी मण्डीहरुको अनुगमन गरिएको जनाए । ‘अनुगमनका क्रममा विशेषगरी तेल, पिठो लगायतका वस्तुको मूल्य बृद्धि भएको पाइएको छ,’ उनले भने, ‘दैनिक उपभोग्य वस्तुको मूल्यबृद्धि बारे उत्पादक कम्पनीमाथि नै छानविनका लागि वाणिज्य विभागलाई पत्र पठाई सकेका छौं ।’ उनले दैनिक उपभोग्य बस्तुहरु ल्याएको कुनैपनि गाडीहरु नरोकिएकोले कुनै व्यापारीले अस्वभाविक मूल्य बृद्धि गर्न नपाईने जनाए ।

Translate »