कोरोना बिमा असार पछि बन्द हुने

वैशाख १७, काठमाडौं । कोरोना बिमा पोलिसी असार महिना पछि बन्द हुने भएको छ । बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिले असार पछि यो पोलिसि बिक्री गर्न नपाउने गरी बन्द गर्ने निर्णय गरेको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अहिले पनि कोरोना बिमा गर्न पाइने बताए । तर अहिले बिमा गरेकाको असार महिनासम्म मात्रै रिक्स कभर हुने उनले बताए । ‘यो पोलिसी असारसम्ममात्रै हो, हामीले पहिले नै भनिसकेका छौं’ उनले भने, ‘अहिलेसम्म कोरोना नलागेकाले बिमा गर्न पाउने भए, तर त्यसको अवधि भने असारसम्ममात्रै हुन्छ ।’ बिमा समितिले गत वर्ष संक्रमित भए १ लाख र ५० हजार रुपैयाँ पाउने गरी दुई वटा पोलिसी बनाएको थियो । दुई चरणमा बिक्री भएको पोलिसी मध्ये एउटा चैत मसान्तमै सकिएको छ भने अर्को पोलिसी असार मसान्तसम्म रहेको छ ।असारमसान्तसम्म अवधि रहने गरी पहिले बिमा गरेकाहरुले भने संक्रमण भए बिमा रकम पाउने कार्यकारी निर्देशक पौडेलले बताए । (अनलाइन खबर)

Translate »