कर्णाली प्राविधिक शिक्षालयको नियमित पढाइ भर्चुअल माध्यमबाट हुने

सागर परियार / बैशाख १६,जुम्ला ।
कर्णाली प्राविधिक शिक्षालय जुम्लाको पठनपाठन भर्चुअल माध्यमबाट नियमित हुने भएको छ । कोरोना संक्रमणको त्रास बढेसँगै जुम्लामा बैशाख १५ गतेदेखि सबै शिक्षण संस्था बन्द गर्ने निर्णय भएपछि शिक्षालयले प्रविधिको प्रयोग गर्दै भर्चुअल, तथा म्यासेन्जर ग्रुपको माध्यमबाट पठनपाठनलाई नियमित गर्ने भएको हो । गत वर्ष जस्तो विद्यालय कलेज बन्द हुँदा मज्जाले बस्ने, पठनपाठनतिर ध्यानै नदिने संस्कारको अन्त्य गर्दै यसपालि शिक्षालयले विद्यार्थी घरमा बस्दा पनि दैनिक ५ विषयको पठाई नियमित गर्ने योजना बनाएको शिक्षालय प्रमुख टेकेन्द्र थापाले बताए । उनले कोरोना संक्रमणको त्रासले शैक्षिक संस्था बन्द गर्ने प्रशासनको निर्णयसँगै शिक्षालयको भौतिक उपस्थितीमा पढाई बन्द हुने बताउनुभयो । तर नियमित पठनपाठनलाई भर्चुअल माध्यमबाट गर्न विद्यार्थीका अभिभावकहरुसँग समन्वय गरिने उल्लेख गरे । साथै शिक्षालय अन्य शिक्षक, सहायक शिक्षालयय प्रमुख लगायत सबैलाई विद्यार्थीको र अभिभावकको नम्बर राखेर पठपाठन नियमित गर्न आबश्यक सल्लाह गर्न समेत निर्देशन दिए ।

कर्णालीका १० जिल्लाका सहित देशका विभिन्न जिल्लाका करिब ७ सय ३५ जना विद्यार्थी कर्णाली प्राविधिक शिक्षालयमा अध्ययनरत छन् । कोरोना संक्रमण नियन्त्रण नभए सम्मका लागि बैशाख १५ गतेबाट सबै विद्यार्थीलाई घर पठाइएको समेत शिक्षालय प्रमुख थापाले जानकारी दिए। टाढाका विद्यार्थी भएकोले घर पुग्न कम्तीमा ५ दिन लाग्ने र घर पुगे लगत्तै अभिभावक र विद्यार्थीसँंग समन्वय गरी दिनको ५ वटा विषय नियमित रुपमा भर्चुअल माध्यमबाट पढाई गरिने उनीको भनाई छ । सबै विद्यार्थीसँंगै एनरोड मोबाईल छैन भन्ने बाहाना बाजी मानिने छैन् । शिक्षालय प्रमुख थापाले भने, “फेसबुक चलाउन, टिकटक चलाउन, महंगा लुगा कपडा लगाउन पैसा हुने अभिभावकले किनिदिने तर पढाईका लागि ८/१० हजारको मोबाईल नकिन्ने कुरै हुदैन् । कडाईका साथ विद्यार्थीको पढाई अघि बढाइने छ ।” साथै शिक्षालयका केहि विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने समस्या भएकोले घर फर्किदा कम्तीमा एक हप्ता छुटै कोठामा होमआइसोलेसनमा बस्न समेत आग्रह गरिएको छ । शिक्षालयका सबै प्रशिक्षकहरुले नियमित भर्चुअल माध्यमबाट पढाई गर्ने र सोहि पढाईका आधारमा पछि परिक्षा हुने भएकोले सबै विद्यार्थी भर्चुअल अध्ययनमा जोडिन सुझाब दिइएको छ । साढे ७ सयको संख्यामा रहेका विद्यार्थीहरु कोभिडका कारणले गर्दा घर फर्किन बाध्य भएका छन् अहिले कर्णाली प्राविधिक शिक्षालयमा कृषि बाली विज्ञान, फार्मेसी, वन विज्ञान, सिभिल इन्जिनियररिङ, प्रि डिप्लोमा तह कृषि जेटिए र सब ओभरसियर कार्यक्रमहरु संचालित अवस्थामा रहेका छन् । बजेट अभावका कारण अझै पूर्वाधार विकास, मर्मत सम्भार, खानेपानी निर्माण लगायतका कामहरु अघि बढ्न सकेका छैनन् । दक्ष जनशक्ति उत्पादनमा हातेमालो गर्न तीनै तहका सरकारलाई शिक्षालयको विकासका लागि आर्थिक सहयोग गर्न समेत अपिल गरिएको छ ।

Translate »