कर्णालीका तीन नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

स्काई न्यूज / बैशाख १५, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको शिफारिसमा आज नियुक्त हुनुभएका तीन मन्त्रीले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको छ । शपथ लिनुहुने मन्त्रीहरुमा नन्दसिङ बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाही हुनुहुन्छ । उहाँहरुले साविककै मन्त्रालयको जिम्मेवारी पाउनुभएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

यस अघि फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको सरकार जोगाइदिने तीन मन्त्रीसहित चार जनालाई नेकपा एमालेले सांसदबाट पदमुक्त गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निष्कासन गरेपछि सांसदबाट पदमुक्त हुने व्यवस्था छ । बिहीबार सांसदबाट पदमुक्त हुनुभएका उहाँहरुलाई मुख्यमन्त्री शाहीले पुनः नियुक्तिका लागि सिफारिस गर्नुभएको हो । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।

Translate »